५० अर्बका नयाँ नोट साटिए

काठमाडौं, २७ असोज । यस वर्षको दसैंमा करिब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले गरी उक्त परिमाणमा नयाँ नोट सटही सुविधा लिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

‘सर्वसाधारणले ५ देखि सय रुपैयाँसम्मका गरी करिब १३ अर्ब रुपैयाँ र बैंक तथा वित्तीय संस्थाले ५ सय र हजार दरका गरी करिब ३७ अर्ब रुपैयाँका नोट साटेका छन्,’ उनले भने ।

यो वर्ष राष्ट्र बैंकले सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण गरेको थियो । यो ५ देखि सय रुपैयाँसम्मको एक-एक वटा बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने २ करोडदेखि ५ करोड रुपैयाँसम्मको सटही सुविधा दिएको थियो । सम्बद्ध बैंकमा ढुकुटीको क्षमता, ग्राहकको मागलगायत आधारमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई उल्लिखित रकम प्रदान गरिँदै आएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि बैंक तथा वित्तीय संस्था र असोज ४ देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन सुरु गरेको थियो । गत सोमबारदेखि यो सेवा बन्द भएको छ । तिहार र छठ पर्वका लागि भने दसैं बिदापछि आवश्यकताअनुसार नयाँ नोट बाँडिने राष्ट्र बैंकले जनाएको छ । कोरोनाका कारण गत वर्ष नयाँ नोट वितरण गरिएको थिएन ।

तर बैंक तथा वित्तीय संस्थालाई भने यो सुविधा दिइएको थियो । सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्दा पनि त्यसबेला ३३ अर्ब रुपैयाँ राष्ट्र बैंकबाट बाहिरिएको थियो । अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्था र सर्वसाधारणलाई गरी करिब ५२ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही भएको थियो ।

दसैंमा धेरै नयाँ नोट बाहिरिएपछि चलनचल्तीमा रहेको मुद्रा पनि बढेर ७ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । गत भदौ अन्तिम साता चलनचल्तीमा रहेको मुद्रा करिब ६ खर्ब ७५ अर्ब रुपैयाँ मात्रै थियो । दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनका सिक्का (चाँदीका स्मारिका सिक्का र सुनका असर्फी) पनि धेरै बिक्री हुँदै आएको छ ।

बर्सेनि दसैं र तिहारका लागि नयाँ नोटको माग बढ्दो छ । मागअनुसार राष्ट्र बैंकले यसको परिणाम पनि बढाउँदै आएको छ । यसले बजारमा मुद्रा आपूर्ति बढाउँछ । यसको अर्थ नागरिकको हातहातमा धेरै पैसा पुग्छ । फलतः खर्च गर्ने प्रवृत्ति पनि बढ्छ । खर्च गर्ने क्षमता बढेपछि माग बढ्छ । माग बढेपछि बजारमा वस्तु तथा सेवाको मूल्य पनि बढ्छ ।

यसले समग्र राष्ट्रको मूल्य वृद्धिदर बढाउँछ । मूल्य वृद्धिदर बढ्नु भनेको पैसाको क्रयशक्ति (भाउ) घट्नु हो । यसकारण पैसाको मूल्य तीव्र रूपमा घट्न दिन नहुने अर्थशास्त्री सुझाउँछन् । नयाँ नोट वितरण राष्ट्र बैंकका लागि चुनौतीपूर्ण बन्दै गएको पनि उनीहरूको भनाइ छ ।

राष्ट्र बैंकले नोट छपाइ, वितरण तथा व्यवस्थापनमा वार्षिक करिब ३ अर्ब रुपैयाँ खर्च गर्छ । नोटको माग बढेअनुसार यस्तो खर्च पनि बढ्छ । यसले राष्ट्रको व्ययभार बढाउँछ । यो क्षेत्रमा गरिने लगानी तुलनात्मक रूपमा अनुत्पादक मानिन्छ । नोटको आयु यति नै वर्ष हुन्छ भन्ने नतोकिए पनि जतनले उपयोग गरे धेरै वर्षसम्म टिकाउन सकिन्छ ।

सरकारले गरेको पछिल्लो व्यवस्थाअनुसार नेपाली मुद्रा (कागजी नोट) वा सिक्का जलाउन, केरमेट गर्न, गाल्न, च्यात्न पाइँदैन । यसो गरेको भेटिएमा प्रहरीले प्रक्राउ गरी ३ महिनासम्म जेल चलान गर्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । प्रमाणसहित उजुरीका आधारमा पनि प्रहरीले कारबाही गर्न सक्ने छुट कानुनमा छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…