कृष्णनगरमा झाडापखाला महामारी : सुखरामपुरमा ट्युबवेलको पानीमा कोलिफर्म भेटियो

कपिलवस्तु, २३ असोज । ६ दिनदेखि झाडापखालाको महामारी फैलिएको कपिलवस्तुको कृष्णनगर नगरपालिका– ७ सुखरामपुरमा ट्युबवेलको पानी परीक्षण गर्दा दिसामा पाइने घातक जीवाणु कोलिफर्म भेटिएको छ ।

वाणगंगा नगरपालिकास्थित भूपू सैनिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ल्याबमा जाँच गराउँदा ४० फिट गहिरो ट्युबवेलको पानीमा दुई प्रतिशत कोलिफर्म भेटिएको हो । तर, झाडापखाला फैलिनुको कारण यही हो भन्ने निश्चित भने भएको छैन ।

कृष्णनगर– ८ बहादुरगन्जस्थित खानेपानी संस्थानको धाराको पानीको नमुना पनि परीक्षण गरिएको थियो । अन्य ठाउँको परीक्षणमा कोलिफर्म नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । सुखरामपुर, बहादुरगन्ज, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरालगायत गाउँमा झाडापखालाका बिरामी देखिएका छन् ।

भारतसँग सीमा जोडिएको नगरका गाउँमा महामारी फैलिएसँगै दुई देश आवतजावत गर्नेहरूको संख्यामा कमी भएको छ । झाडापखाला फैलिनुको कारण पत्ता लगाउन केन्द्रबाट टोली आएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।

आँगनमा उपचार, बिरामीलाई लामखुट्टे र सर्पको डर
बान्ता र पखाला नरोकिएपछि सुखरामपुरका ३२ वर्षीय साहिन खान गत आइतबार घरनजिकै बहादुरगन्जस्थित शिवराज अस्पताल पुगे । कृष्णनगर– ८ का ७० वर्षीय तौलेश्वर मिश्र पनि उही समस्या लिएर अस्पताल आइपुगे । यसरी नै एकाएक बिरामीको चाप बढ्न थालेपछि अस्पताल भरिभराउ भयो । बेडबाहिरै बिरामी छटपटाउन थाले ।

त्यहाँ उपचार सम्भव नभएपछि मिश्रलाई तौलिहवास्थित कपिलवस्तु अस्पताल रिफर गरियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि भैरहवा मेडिकल कलेज पठाइयो । तीन दिनको उपचारपछि अहिले मिश्र घर फर्किएका छन् । ‘बाँचिएला जस्तो लागेको थिएन, दुई दिन निकै गाह्रो भयो,’ मिश्रले भने, ‘म ठिक भए पनि श्रीमतीलाई अहिले उस्तै समस्या छ ।’

६५ वर्षीया श्रीमती अन्नपूर्ण मिश्र अहिले शिवराज अस्पतालमै उपचाररत छिन् । सोही गाउँका अनुसहमा मुसलमानको परिवारका १६ जना सदस्यमध्ये १४ जनामा झाडापखाला र बान्ताको समस्या देखियो । मंगलबारदेखि परिवारका सबैजसो सदस्यमा देखिएको यो समस्याले घरमा रुवाबासी नै चल्यो । १२ जना हाल निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

दुईजना उपचाररत छन् । कृष्णनगरमा फैलिएको झाडापखालाबाट अहिलेसम्म चार सय ६१ जना बिरामी परेका छन् । हाल ९५ जना उपचाररत छन् भने तीन सय ६६ डिस्चार्ज भएका छन् । अस्पताल पुर्‍याउन नपाउँदै दुई जनाको मृत्यु भइसकेको छ ।

शिवराज अस्पतालको क्षमता १५ बेडको रहे पनि बिरामीहरूको संख्या बढी हुँदा कठिनाइ भएको अस्पतालका डा. मुकेश चौधरीले बताए । बिरामीलाई खुला आकाशमुनि राखेर उपचार गरिएको छ । अस्पतालको बाहिरी क्षेत्रमा झाडी र फोहोर हुँदा बिरामीमा लामखुट्टे र सर्पको त्रास थपिएको छ । ‘कम्तीमा त्रिपाल लगाएर मात्रै राखिदिए पनि हुन्थ्यो,’ बिरामी कुरुवा हरि जयसवालले भने । डाक्टर अभाव हुँदा थप समस्या भएको छ । प्रदेश र जिल्लाबाट केही डाक्टर खटाए पनि रातको समयमा फिर्ता हुने भएकाले समस्या भएको अस्पताल प्रशासनको भनाइ छ ।

स्वास्थ्य कार्यालय भन्छ– औषधि अभाव छैन
झाडापखालाका बिरामीलाई शिवराज अस्पतालमा औषधिको अभाव भने नरहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । अस्पतालमा आवश्यक सम्पूर्ण औषधि पुर्‍याइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेले बताए ।

उनका अनुसार झाडापखाला फैलिएको स्थानमा पानी शुद्धीकरणका लागि पियूष, चक्की, जीवनजल, अक्वाट्याबलगायत वितरण गरिएको छ । सचेतनाको लागि डाटा संकलन र सर्वेक्षणसमेत गरिएको छ । जिल्लास्थित विभिन्न गैरसरकारी संस्थालगायत निकायले स्वास्थ्य सामग्री र जनचेतनाका कार्यक्रमहरू गरिरहेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…