चाडपर्वले झन बल्झाउँछ पीडा

काठमाडौं, १८ असोज । दशैं लागेपछि करिब एक महिना स्कुल छुट्टि हुन्थ्यो । रामेछापकी निर्मलालाई दिनहुँ स्कुल धाउनुपर्ने र गृहकार्य गर्नुपर्ने तनावबाट छुटकारा मिल्थ्यो । उनी टोलभरीका साथीसंगी भेला भएर दिनभरी खेल्न भ्याउँथिन् । आमा, दिदी, भाउजु, फुपुहरु रातो माटो, कमेरोले लिपपोत गरेर घर चिटिक्क पार्थे । बाटोघाटो सफा सुग्घर पार्थे । काका, दाजुहरु घर नजिकै चउरमा लिंगे पिङ लाउँथे । उनी बर्ष दिनमा आउने दशैं सिजनले दंग पर्थिन् ।

नयाँ लुगा लाउने, मामाघर जाने, टीका र दक्षिणा थाप्ने उत्साहले गर्दा विजया दशमीको दिन झन बिशेष लाग्थ्यो उनलाई । एक दिन हिंडेर पुगिने मामाघर जाने अवसर दशैमा मात्रै जुर्‍थ्यो । मावली हजुरआमा र मामा–माइजुले खुबै माया गर्थे । उनलाई पनि मामाघर प्यारो लाग्थ्यो । घर फर्कन मन हुँदैनथ्यो । ‘त्यतिखेर ६-७ बर्षको थिए, त्यो बाल मस्तिष्कमा टीका थाप्ने भन्दा नि दक्षिणा थाप्ने, मिठाइ किनेर खाने, बेलुन किनेर उडाउने, मामाघरको मायाले हुरुक्कै हुन्थे, दिनदिनै दशै आइरहोस् जस्तो लाग्थ्यो,’ उबेलाको दशै सम्झिइन् ।

अहिले उनी २८ बर्षकी भइन् । दशै नजिकिंदैछ । तर बाल्यकालमा जसरी हर्षोल्लास पटक्कै छैन । उनी १० बर्षको हुँदा सडक दुर्घटनामा परेर बायाँ खुट्टा गुमाएपछि दशै रौनक पनि गुम्यो । काठमाडौंमा छ महिना अस्पताल बसिन् । खुट्टा गुमेपछि गाउँमा हिंडेर जाने स्कुल पढ्न नसक्ने भइन् । उनी बैशाखी टेकेर हिंड्थिन् । काठमाडौंको एक आश्रय गृहमा बसेर पढिन् । त्यहाँ उनी जस्तै अपाङ्गता भएका विद्यार्थीहरुले आश्रय लिएका थिए ।

दशैं तिहार लागेपछि स्कुल विदा हुन्थ्यो । घरबाट बाआमा लिन आउँथे । बैशाखी टेकेर पहिलोपल्ट मामाघर पुगिन् दशै मनाउन । आफन्त नातेदारले टिठलाग्दो व्यवहार देखाए । ‘कठै बिचरा, कस्तो भाग्य लिएर आएछौं, कसरी गरिखान्छौं, यस्तो मान्छेलाई कसले हेर्छ, बिहे गर्छ, जीन्दगी अन्धकार हुने भयो,’ मामाघर पुगेको बेला नातेदारले यसरी होच्याएको उनलाई मन परेन । उनी सानैदेखि हक्की स्वभावकी थिइन् । ‘खुट्टा गुमाएर पनि मैले हरेस खाएको थिएन, मेरो आफन्तहरुले त्यस्तो भनेपछि दशै खल्लो मात्रै भएन, साँच्चीकै केही गर्नै सक्दिन की भन्ने भएको थियो,’ उनले सुनाइन् ।

त्यसपछिका दशैमा गाउँ जाने रहर पलाएन । गइहाले पनि मामाघर, आफन्तकहाँ पुगिनन् । उनलाई आफन्त, नातेदार जमघट हुने दशै, तिहार र तीज जस्ता चाडपर्व सकभर नआइदिए हुन्थ्यो भन्ने लाग्छ । ‘मेरो परिवारले मेरा हरेक संघर्षमा साथ दिएको छ, तर चाडपर्वले गराउने जमघट, भेटघाटहरुमा मेरा आफन्तहरुले गिज्याउने, होच्याउने कुराले मलाई चाडवाड नै नआओस्, ती आफन्तहरुसँग भेटघाट नहोस् लाग्छ,’ उनले भनिन् ।

चाडपर्वलाई उत्साह, उमंग, आत्मीयता र सद्भावको प्रतिकका रुपमा लिइन्छ । तर निर्मला जस्ता अपाङ्गता भएका व्यक्तिहरुका लागि ती चाडपर्वले पुराना घाउँ बल्झाइदिन्छ । संविधानमा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक लेखिएको छ । अपाङ्गता भएका व्यक्तिहरु भने बोचीचाली र व्यवहारबाट अपमानित हुन्छन् । कतिपयलाई परिवारले खोजी गर्दैनन्, सम्झदैनन् । कतिपयलाई छिमेकी, नातेदार र आफन्तले खिसिट्युरी व्यवहार देखाउँछन् ।

जस्तो अढाइ बर्षअघि धादिङमा १८ बर्षीया किशोरीलाई आफ्नै मामाको छोराले बलात्कार गरेपछि परिवारले कहिल्यै सम्झेनन् । उनी सामान्य स्तरको बौद्धिक अपाङ्गता भएकी व्यक्ति हुन् । घटना भएपछि उनलाई एक सेफ हाउसमा राखियो । परिवारसँग सम्पर्क गराउन खोज्दा सम्पर्कमा आउन चाहेनन् । यतिसम्मकी उनको पढाइका लागि जन्मदर्ता र अपाङ्गता परिचय पत्र प्रहरीमार्फत मगाउनु परेको थियो । सेफहाउस सञ्चालक तथा परामर्शकर्ता गायत्री खतिवडाले भनिन्, ‘जब दशै तिहार, तीज आउथ्यो, बाआमा, घरपरिवार सम्झेर रुन्थिन्, सम्झाइ, बुझाइ गर्न गाह्रो हुन्थ्यो ।’

गत बर्षको दशैमा सेफ हाउसमा आश्रय लिइरहेका आठ जना मध्ये पाँच जना आ–आफ्नो घर गए । तीन जनाको परिवार सम्पर्कमा आएनन् । उनीहरुलाई सेफ हाउसले नै दशै मनाई दियो । नयाँ लुगा लगाइ दियो । मिठोमसिनो खानपान र टीका दक्षिणा दियो । रमाइलो, मनोरञ्जन गरायो । ‘त्यै पनि परिवार लिन आएनन् भनेर दुःख मान्छन्, चाडवाडमा व्यक्तिगत रुपमा खुशी हुन खोज्छन्, परिवारले स्वीकारी दिदैनन्, उनीहरुलाई चाडवाडले झन दुःखी बनाउँछ,’ खतिवडाले बताइन् ।

अपाङ्गता भएका व्यक्तिलाई परिवार र समाजले हेलाको दृष्टिले हेर्छन् । हिंसामा परे भने उनीहरुलाई नै दोष्छन् । सेफ हाउसमा राखेपछि परिवारले जिम्मेवारीबाट पन्छिएको महसुस गर्छन् र सकभर परिवारमा फर्काउन चाहँदैनन् । आर्थिक रुपमाले सबल परिवारले समेत स्वीकार्दैनन् । ‘उनीहरुलाई अरुसँग घुलमिल हुने, सामाजिकरण हुने अवसरै जुर्दैन, यसले गर्दा हिंसामा परेका अपाङ्गता भएका महिला–बालिकालाई पुस्र्थापना हुन झनै समस्या छ,’ १८ वर्षदेखि अपाङ्गता महिलाको क्षेत्रमा काम गर्दै आएकी त्रिवि समाजशास्त्र विभागकी उपप्राध्यापक नीति अर्याल खनालले भनिन् ।

नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (सीआरपीडी) को पक्ष राष्ट्र हो । उक्त सन्धिको कार्यान्वयन बारे संयुक्त राष्ट्रसंघलाई अनिवार्य आवधिक रुपमा प्रतिवेदन पेश गर्नुपर्छ । सन २०१८ फेब्रुअरीमा सीआरपीडी समितिले नेपालले दिएको प्रतिवेदन समीक्षामा लिंगका आधारमा गरिने हिंसा प्राय अशक्ततामा आधारित हुने गरेको जनाएको छ ।

हिंसामा परेका महिला–बालिकालाई समाजमा सम्मानपूर्वक जिउन, सामाजिक जीवनमा फर्कन आफन्त, छिमेकी नै बाधक बन्ने गरेको अधिकारकर्मी टीका दाहालको भनाइ छ । ‘विगतका कुरामा फर्कन नपरोस् भन्छौं, तर आफन्त, नातेदार समाजले सम्झाउँछ, चाडवाडमा घर पुगेर पनि उल्टै दुख्नु पर्छ, त्यही बेला सबै भेला हुन्छन्,’ उनले भनिन् ।

उनको संस्थाले काठमाडौंमा सञ्चालन गरिरहेको दीर्घकालीन सेफ हाउसमा बर्षेनी दुई÷तीन जना घर जान सक्दैनन् । उनीहरुलाई घर जान नपाएको, कोही लिन नआएको कुराले मानसिक विचलन गराउँछ । सेफ हाउसमै दशै मनाएर परिवारको न्यास्रो मेटाउने कोशिस गरे पनि सहज मान्दैनन् । ‘जति नै रमाइलो भए पनि उनीहरु परिवारको याद गर्छन्, जोकसैलाई यस्तो महसुस हुन्छ,’ उनले थपिन् ।

परिवारलाई पनि समाजले बहिष्करणमा पार्छन् । अपाङ्गता भएका व्यक्ति भएका परिवारका सदस्य हिंसामा परेका छन् भने दाजुभाइ खलकले पुजाआजा, साँस्कृतिक कामकाजमा एक्लो बनाउँछन् । गत बर्ष साउनमा धादिङकै १२ बर्षीया बौद्धिक अपाङ्गताकी बालिकालाई झट्केलो बाबुले बलात्कार गरेपछि सेफ हाउसमा राखियो । मुद्दा गरेर बलात्कार गर्ने बाबुलाई कैद सजायमा छन् । तर बालिकालाई परिवारले खोजीचासो गरेका गर्दैनन् । महिनौसम्म सम्पर्क गरेपछि दुई महिना अघि आमा भेट्न आइन् । उनलाई माया, ममता दिनुको साटो उल्टो गाली गरेर फर्किन् ।

घटना भएपछि आमालाई परिवार र आफन्तले असहयोग गरेछन् । आफ्नै पतिलाई मुद्दा गरेर कारागार थुनामा पठाएको भनि दुःख दिएछन् । उनी काठमाडौंमा मजदुरी गरेर जीविका चलाइरहेकी छन् । अपाङ्गता भएका छोरीकै कारणले आफूले पनि दुर्व्यवहार भोग्नुपरिरहेको भनेर आमाहरु उल्टै गाली गर्न बाध्य हुने गरेका छन् ।

अपाङ्गता भएका व्यक्ति तथा उनका परिवारका सदस्यहरु विभिन्न खाले अन्धविश्वास र नकारात्मक सामाजिक मनोवृत्तिको शिकार हुन पुग्छन् । अपशब्द बोल्ने, गाली गर्ने, सामाजिक र कानुनी पक्षमा अपहेलना गर्ने जस्ता गतिविधिले उनीहरुको मानवअधिकार हनन् भइरहेको राष्ट्रिय अपाङ्ग महासंघका कार्यक्रम व्यवस्थापक मनिष प्रसाई बताउँछन् ।

नेपाल अपाङ्ग महिला संघले दुई बर्षअघि सार्वजनिक गरेको प्रतिवेदन ‘अदृष्य वास्तविकताः ग्रामीण नेपालका अपाङ्गता भएका महिलाहरूले भोगेका जीवन कथा’ मा अपाङ्गता भएका महिलाहरुले आफ्नो जीवनकालमा विभेद, अपमान, यातना, कुटपिट, यौन सम्पर्क दबाब जस्ता हिंसा तथा दुव्र्यवहार खेप्नुपरिरहेको बताएका थिए । सर्भेक्षणमा सहभागीमध्ये ७२ प्रतिशतले मानसिक, ३८ प्रतिशतले शारिरीक र १७ प्रतिशतले यौन हिंसा भोग्नुपरेको बताएका छन् । उनीहरुमध्ये ६४ प्रतिशतले परिवारका सदस्य, छिमेकीबाटै हिंसा र दुर्व्यवहार भोगेको प्रतिवेदनमा उल्लेख छ । सर्भेक्षणमा मोरङ, काभ्रे र गोरखाका १३ नगरपालिकामा १४५ अपांगता भएका अपाङ्गता भएका महिलाहरु सहभागी थिए ।

अपाङ्गता भएका महिलाहरू मात्रै होइन, जोसुकै महिला लैगिंकताका आधारमा हुने हिंसा र दुव्र्यवहारको सिकार हुने गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले देखाउँछ । उक्त सर्भेक्षण अनुसार नेपालमा ५ महिलाहरुमध्ये १ भन्दा बढि (२२ प्रतिशत) महिलाहरुले १५ बर्षको उमेरमा नै शारिरीक हिंसाको अनुभव गर्छन् । पहिले वा अहिले विवाहित महिलाहरुमध्ये ८४ प्रतिशतलाई आफ्नै पतिबाट शारिरीक हिंसा हुन्छ । नेपालमा ७ प्रतिशत महिलाले जीवनकालमा कुनै न कुनै समय यौनजन्य हिंसाको अनुभव गर्छन् । विवाह गरेका महिलाहरुमध्ये धेरैले (८० प्रतिशत) ले पतिबाटै यौनजन्य हिंसा खेप्छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…