६१ प्रतिशतले बढ्यो कृषि बिमा

काठमाडौं, १७ असोज । अघिल्लो आर्थिक वर्ष २०७६ /७७ मा १७ प्रतिशतले बढेको कृषि बिमा गत आव २०७७ /७८ मा ६१ प्रतिशतले बढेको छ ।
कोरोना महामारीको पहिलो लहरका कारण बिमा गतिविधि सुस्ताएकाले अघिल्लो आवमा कृषि बिमा विस्तारमा कमी आएको थियो । कोरोनाको दोस्रो लहरको जोखिमकै बीच गत आवमा भने बिमा गतिविधि रोकिएन । जसका कारण कृषि बिमा गर्नेको संख्या बढेको हो ।

बिमा समितिका अनुसार गत आवमा कृषि बिमा (कृषि र पशुपन्छी) मार्फत १ अर्ब ९० करोड २२ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ । अघिल्लो आवको तुलनामा यो करिब ६१ प्रतिशतले बढी हो । अघिल्लो आवमा कृषि बिमामार्फत १ अर्ब १८ करोड १६ लाख रुपैयाँ मात्रै संकलन भएको थियो । गत आवमा ४२ अर्ब ४९ करोड रुपैयाँ बराबरको कृषि बिमा भएको छ । अघिल्लो आवको तुलनामा यो पनि ६१ प्रतिशतकै वृद्धि हो । २०७६/७७ मा २६ अर्ब ३८ करोड रुपैयाँ बराबरको कृषि बिमा भएको समितिले जनाएको छ ।

प्रतिस्पर्धा बढेसँगै बिमा कम्पनीहरूले कृषि बिमालाई प्राथमिकतामा राख्न थालेकाले पछिल्ला वर्षहरूमा यो क्षेत्रको राम्रैसँग विस्तार भएको बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले बताए । ‘मैले कृषि बिमामा धेरै सम्भावना देखेको छु । अरू कम्पनीहरूको बुझाइ पनि यस्तै होला,’ उनले भने, ‘कृषि बिमा गर्दा अपवादबाहेक नोक्सान छैन । सँगै अरू बिमाका अवसर (मोटर, स्वास्थ्यलगायत) पनि पाइन्छ ।’

बिमा कम्पनीलाई पनि कम जोखिम र अर्थतन्त्रलाई पनि लाभदायक हुने भएकाले कृषि बिमालाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । किसानमा बिमासम्बन्धी चेतना र पहुँच बढेकाले पनि कृषि बिमाको विस्तार राम्रो भएको पाण्डेको दाबी छ । ‘व्यावसायिक कृषि गर्ने क्रम बढेको छ, त्यसले पनि किसानमाझ बिमाको महत्त्व बढाएको छ,’ उनले भने ।

अघिल्लो आवको तुलनामा गत आवमा कृषि बिमाको बिमा शुल्क ८२ प्रतिशतले बढेको छ भने पशुपन्छीको ५९ प्रतिशतले बढेको बिमा समितिको तथ्यांक छ । कृषि बिमा गर्दा लाग्ने शुल्कमा सरकारबाट भारी छुट पाइन्छ । जसअनुसार कृषि बिमामा बिमा शुल्कको ८० प्रतिशत अनुदान दिन्छ । मानौं, कुनै किसानले आफूले पालेका पशु वा खेती गरिरहेको बालीको बिमा गर्न चाहे १ लाख रुपैयाँ बिमा शुल्क तोकिएको छ । तर किसानले २० हजार रुपैयाँ मात्रै तिरे पुग्छ । बाँकी ८० हजार रुपैयाँ बिमा शुल्क सरकारबाट अनुदान पाइन्छ । यसकारण पनि कृषि बिमा किसानका लागि लाभदायक रहेको बिमा कम्पनीहरू बताउँछन् ।

यही व्यवस्थाअनुसार गत आवमा मात्र सरकारबाट आउनुपर्ने बिमा शुल्क अनुदान १ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो अनुदान ८८ करोड ६२ लाख रुपैयाँ थियो । सरकारले २०७० देखि कृषि बिमा शुल्कमा अनुदान दिन थालेको हो । सुरुमा कुल बिमा शुल्कको ५० प्रतिशत मात्रै अनुदान दिने व्यवस्था थियो । पछि त्यसलाई बढाएर ७५ प्रतिशत बनाइयो । २ वर्षअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अनुदान घटाएर ५० प्रतिशतमा झारेको थियो । प्रतिस्थापन विधेयकमार्फत अहिलेको सरकारले कृषि बिमामा अनुदानको सीमा बढाएर ८० प्रतिशत पुर्‍याएको छ ।

यद्यपि, सरकारबाट आउने अनुदान समयमा प्राप्त नहुँदा समस्या हुने गरेको गुनासो कम्पनीहरूले गरेका छन् । जसअनुसार गत आवमा पनि सरकारले दिनुपर्ने कुल अनुदानमध्ये ८१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । जसअनुसार कृषि बिमामा ७ करोड ८२ लाख र पशुपन्छी बिमामा ७३ करोड १७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बिमा समितिले जनाएको छ । कृषि बिमालाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले बिमा शुल्कको ८० प्रतिशत अनुदान दिने नीति लागू गरे पनि प्रभावकारी रूपमा नियमन र सुपरिवेक्षण नहुँदा विकृति भने बढेको जानकारहरू बताउँछन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…