विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षको भदौ र असार बाहेक सबै महिनामा घटेको विदेशी लगानीमा चालु आर्थिक वर्षको सुरुमै उच्च दरले कमी आएको हो ।

कोभिड संक्रमणका कारण विश्वव्यापी रूपमा विदेशी लगानी प्रभावित भइरहेका बेला नेपालमा पनि त्यसको असर परेकाले विदेशी लगानी घटेको जानकारहरू बताउँछन् । ‘गत साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी ६५.५ प्रतिशत घटेर ४८ करोड ६ लाख कायम भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ३९ करोड रुपैयाँ थियो ।’

गत आर्थिक वर्षको १० महिना विदेशी लगानी घट्यो भने २ महिना बढ्यो । २०७७ भदौमा २३.३ प्रतिशत र गत असारमा ०.२ प्रतिशत मात्र विदेशी लगानीमा सुधार आएको थियो । बाँकी सबै महिनामा विदेशी लगानी घटेको थियो । यद्यपि गत आर्थिक वर्षका पछिल्ला महिनामा विदेशी लगानीको घट्ने दरमा भने कमी आएको थियो ।

गत आर्थिक वर्षमा १९ अर्ब ५१ करोड रुपैयाँ विदेशी लगानी मुलुक भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपाल भित्रिएको विदेशी लगानी ०.२ प्रतिशत मात्र बढेको हो । अघिल्लो आर्थिक वर्षमा १९ अर्ब ४८ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । विदेशी लगानीको प्रवृत्तिलाई विश्लेषकहरूले कोभिडको प्रभावसँग जोडेर हेरिएको छ ।

कोभिडको असरका कारण विदेशी लगानी पनि प्रभावित बनेको राष्ट्र बैंकले जनाएको छ । कोभिडको अवस्थामा यति लगानी आउनुलाई पनि सन्तोषजनक मान्नुपर्ने राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । यसअघि लगानी सम्मेलनमा प्रतिबद्धता गरिए पनि अवस्था सामान्य नभएकाले लगानी नआएको उनको दाबी छ ।

पछिल्ला महिनामा मुलुकमा राजनीतिक अस्थिरता बढ्दै गएकाले चालु आर्थिक वर्षमा पनि विदेशी लगानी बढ्ने सम्भावना न्यून रहेको जानकारहरू बताउँछन् । तत्कालका लागि विदेशी लगानी घट्नुको कारण कोभिड देखिए पनि नेपालको संरचनागत र प्रक्रियागत अवरोधकै मुख्य कारण भएको उनीहरूको भनाइ छ । लगानीमैत्री वातावरणका लागि अझै पनि धेरै प्रक्रियागत अवरोध रहेको देखिएको उनीहरूको दाबी छ ।

आर्थिक वर्ष २०७६ /७७ का सबै महिनामा विदेशी लगानी उच्च दरले बढेको थियो । तर गत आर्थिक वर्षको सुरुकै महिनामा घटेको थियो । यसअनुसार २०७७ साउनमा विदेशी लगानी ३.३ प्रतिशत घटेर १ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको थियो । भदौमा विदेशी लगानी २३.३ प्रतिशत बढेर २ अर्ब ४४ करोड रुपैयाँ भित्रियो । असोजदेखि गत जेठसम्म घटिरहेको विदेशी लगानी अन्तिम महिनामा झिनो सुधार भएको हो ।

यसअनुसार गत असोजमा विदेशी लगानी २६.८, कात्तिकमा २४, मंसिरमा साढे ३१, पुसमा ३७.२, माघमा ३७.३, फागुनमा ३४.८, चैतमा २५, वैशाखमा १९.२, जेठमा १३.४ र असारमा ०.२ प्रतिशत घटेको थियो । पछिल्ला वर्षमा नेपाल भित्रिने विदेशी लगानीमध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको छ । गत तीन आर्थिक वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये जलविद्युत् क्षेत्रमा आएको लगानी औसत ९० प्रतिशत हाराहारी रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

नेपाल भित्रिएर लगानीमा रहेको कुल एफडीआईमध्ये सबैभन्दा धेरै भारतबाट आएको छ । यो नेपालमा आएर लगानीमा रहेको (स्टक) एफडीआई हो । हरेक वर्ष विदेशी लगानीको आप्रवाह (फ्लो) हेर्दा भारतभन्दा धेरै लगानी अन्य राष्ट्रबाटै आएको देखिन्छ । ‘नेपालमा रहेको कुल लगानीमध्ये भारतको हिस्सा ३१.५ प्रतिशत छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सो अवधिसम्म भारतबाट ६२ अर्ब ४४ करोड रुपैयाँ विदेशी लगानी आएको छ ।’

भारतबाट आएको कुल लगानीमध्ये ३९.१ प्रतिशत उत्पादनमूलक, ४२.२ प्रतिशत बिजुली, ग्यास र पानी, २३ प्रतिशत बैंक तथा बिमा र ३.७ प्रतिशत अन्य क्षेत्रमा छ । भारतपछि धेरै विदेशी लगानी नेपाल आउने राष्ट्र चीन हो । हाल चिनियाँ लगानीकर्ताबाट ३० अर्ब ९७ करोड रुपैयाँ लगानी भएको देखिन्छ । यो कुल विदेशी लगानीको करिब १५.६ प्रतिशत हो । चीनबाट आएको कुल लगानीमध्ये ४१.३ प्रतिशत उत्पादनमूलक, ५८.४ प्रतिशत बिजुली, ग्यास र ०.३ प्रतिशत अन्य क्षेत्रमा रहेको प्रतिवेदनले देखाएको छ ।

कर छल्न सजिलो मानिएको ‘ट्याक्स हेवन’ भनिने सेन्ट किट्स एन्ड नेभिसबाट नेपालमा कुल १५ अर्ब २६ करोड लगानी आएको देखिन्छ । यो कुल लगानीको करिब साढे ७ प्रतिशत मात्र हो । आर्थिक वर्ष २०७५ /७६ सम्म उक्त राष्ट्रबाट करिब २४ अर्ब रुपैयाँ विदेशी लगानी आएको थियो ।

आयरल्यान्डबाट कुल लगानीको ६.५, सिंगापुरबाट ६.३, अस्ट्रेलियाबाट ५.५, यूएईबाट ३.६ र दक्षिण कोरियाबाट ३.६ प्रतिशत विदेशी लगानी छ । यस्तै अमेरिकाबाट ३.१, बंगलादेशबाट २.७ र अन्य शीर्षकमा करिब १४ प्रतिशत विदेशी लगानी रहेको राष्ट्र बैंकको प्रतिवेदनले औंल्याएको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…