३८ क्वीन्टल सुन तस्करी मुद्दाको आजदेखि अन्तिम सुनुवाइ

मोरङ, १० असोज । मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणसँग जोडिएको करिब ३८ क्वीन्टल सुन तस्करी मुद्दाको आज (आइतबार) देखि अन्तिम सुनुवाइ शुरु हुँदैछ ।

उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको मुद्दाको सुनुवाइ जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने भएको छ । यही असोज ७ गतेदेखि सुनुवाइका क्रममा ‘हेदाहेर्दै’ मा राखिएको उक्त मुद्दामा कानुन व्यवसायीका तर्फबाट बहस शुरु हुने अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमालले जानकारी दिए ।

यो मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसालको नेतृत्वमा हुनेछ । वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले, सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेललगायतले बहस गर्ने छन् । उनीहरूका लागि बहस गर्न आइतबार र सोमबारको समय छुट्ट्याइएको छ । त्यसपछि मुद्दामा प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गर्ने मोरङ अदालतका सूचना अधिकारी धमालले बताएका छन् । दुवै पक्षको बहस सकिएपछि मुद्दाको फैसला हुनेछ ।

लामो समयदेखि विचाराधीन मुद्दाको किनारा दशैंअघि नै लगाउने तयारी छ । पुर्पक्षका सिलसिलामा जिल्लाबाट उच्च हुँदै मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ । मुद्दामा मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीलाई मुख्य अभियुक्त बनाइएको छ । गोरेको समूहले दुबईबाट २०७४ माघ ९ गते तस्करी गरी साढे ३३ किलो सुन काठमाडौं ल्याएर गायव बनाइएको थियो । जुन अहिलेसम्म फेला परेको छैन ।

सुन गायव बनाएको आरोपमा गोरेको समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा सनमको मृत्यु भएको थियो । शाक्यले गोरेको समूहमा आबद्ध रहेर सुन तस्करको भरियाका रूपमा काम गरिरहेको अनुसन्धानबाट पत्ता लागेको छ ।

हत्यापछि शाक्यको शव एक रात धरानमा राखेको खुल्यो । हत्याको भोलिपल्ट फागुन १९ गते विराटनगरबाट प्रहरीले शव बरामद ग¥यो । शाक्यको शव राखिएको बा १२ च ५९६३ नम्बरको स्कारपिओ र मे १ च ५३९८ नम्बरको कारसहित प्रहरीले त्यतिबेला चालकहरू मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई पक्राउ गर्‍यो । शाक्यको हत्या घटनामा गोरेको प्रत्यक्ष संलग्नता रहेको भिडियो सार्वजनिक भयो। तर, त्यतिबेला उनी पक्राउ परेनन् । फरार बनेका उनलाई काठमाडौंबाट पक्राउ गरेर २०७५ जेठ ९ गते मोरङ अदालतमा उपस्थित गराइयो । अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका उनी अहिले पनि कारागारमै छन् ।

सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायतलाई पनि प्रतिवादी बनाइएको थियो । खत्री र राउत अहिलेसम्म थुनामै रहँदा अरू उच्च अदालत विराटनगरको आदेशबाट छुटिसकेका छन्। मुद्दा चलाइएकामध्ये लोहनीलाई भने प्रहरी अधिकारीकै योजना र स्वार्थमा फसाइएको आरोप लाग्दै आएको छ । अनुसन्धानबाट तस्करीमा उनको संलग्नता नदेखिएको स्रोतले बताएको छ । । अरू पूर्व एवं बहालवाला प्रहरीको भने तस्करी तथा शाक्य हत्या प्रकरणमा कुनै न कुनै हिसाबले संलग्नता पाइएको नेपाल प्रहरीका एक अनुसन्धान अधिकृतले बताए ।

शाक्य हत्या प्रकरणको अनुसन्धान थालेपछि सुन तस्करको जालो प्रहरीले पत्ता लगाएको हो । सरकारले यस घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति नै गठन गरेको थियो । समितिले गरेको छानबिनअनुसार गोरेको ‘सेटिङ’ र अरू व्यापारीको लगानीमा दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन नेपाल भित्रिँदा विमानस्थलको सुरक्षार्थ खटिने प्रहरी अधिकारीले सहजीकरण गरिदिएको अनुसन्धानबाट खुलेको हो ।

सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रूपमा आयात गरिएको दाबी गरिएको छ ।

सन् २०१५ जुलाइदेखि २०१६ अगस्टसम्ममा उक्त परिणामको सुन तस्करी गरेर नेपाल ल्याइएको अनुसन्धानबाट खुलेपछि त्यही बराबरको बिगो मागदाबीसहितको मुद्दा दर्ता गरिएको हो। यस मुद्दामा अभियुक्त बनाइएकाहरूले संगठित अपराध निवारण ऐन, भन्सार ऐन र तत्कालीन मुलुकी ऐन गरेर तीनवटा ऐनविरुद्धको कसुर गरेको दाबी सरकार पक्षको छ । मोरङ प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै २०७५ वैशाख १९ मा ६३ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा पहिलो पटक मुद्दा दायर गरेको हो ।

अनुसन्धानका क्रममा तथ्य खुल्दै गएअनुसार तीन पटकसम्म पूरक अभियोग दर्ता गर्दा प्रतिवादी ७७ पुगेका हुन् । ७७ जना अभियुक्तमध्ये अहिलेसम्म मुख्य अभियुक्त गोरेसहित ५५ जना मात्रै पक्राउ परेका छन् । २२ जना फरार रहेको र अदालती कारबाहीको प्रक्रियामा नआएको स्रोतले बतायो । फरार रहेकाको हकमा मुद्दा मुल्तवीमा रहने बताइएको छ । फरार भएर विदेशमा रहेका अभियुक्तलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’ जारी गरी ‘इन्टरपोल’मार्फत खोजी गरिएको थियो । त्यसपछि केही अभियुक्त पक्राउ परे ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…