९८ प्रतिशत मेनपावरले सरकारले तोकेभन्दा बढी शुल्क लिंदै

काठमाडौं, ३१ भदौं । वैदेशिक रोजगारीमा रहेका दुई तिहाइभन्दा बढी श्रमिकले पुनः विदेश जाँदा आफूले अघिल्लो पटक सेवा लिएको मेनपावर कम्पनीबाट सेवा नलिने बताएका छन् ।

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी) ले गरेको वैदेशिक रोजगारीमा पठाउने कम्पनीको समीक्षामा सहभागी एक हजार ५३९ श्रमिकमध्ये ७० प्रतिशतले आफूले पुनः सोही कम्पनीको सेवा नलिने धारणा राखेका हुन् । अध्ययनअनुसार ९८ प्रतिशत श्रमिकले मेनपावरलाई सरकारले तोकेकोभन्दा बढी सेवा शुल्क तिरेको बताएका छन् । उनीहरुले एक लाखभन्दा बढी रकम तिरेको बताएका हुन् । दुई प्रतिशतले मात्र भर्ना प्रक्रियामा कुनै शुल्क तथा खर्च तिर्नु नपरेको बताएका छन् ।

सरकारले वैदेशिक रोजगारीका लागि मुख्य श्रम गन्तव्य मुलुकका लागि ‘फ्रि भिसा, फ्रि टिकट’ र न्यूनतम सेवा शुल्क तोकेको छ भने मलेसिया, संयुक्त अरब इमिरेट्स, मरिससलगायत मुलुकका लागि कुनै शुल्क तिर्नु पर्दैन । अझै पनि ठूलो सङ्ख्याले भर्ना प्रक्रियामा चर्को शुल्क तिर्नुपरेको गुनासो श्रमिकले गरेका छन् ।

अध्ययनका क्रममा झण्डै एक तिहाइले आफूलाई भनिएअनुसार रोजगारी गन्तव्य मुलुकमा नपाएको तथा ५३ प्रतिशतले रोजगारीका क्रममा आफूले पाउने भनिएको तलब नपाएकोे बताएका छन् । यस्तै ९६ प्रतिशतले रोजगारीका दौरान आफ्नो राहदानी आफूलाई राख्न नदिइएको बताएका छन् । २६ दशमलव चार प्रतिशतले मात्र आफू पुनः पहिलेकै रोजगारदाताकोमा रोजगारीका लागि जान इच्छुक रहेको बताएका छन् । यसबाट रोजगारीमा रहेको ठूलो संख्या रोजगारदातासँग सन्तुष्ट नरहेको देखिएको छ ।

अध्ययनमा सहभागीमध्ये ९५ प्रतिशतले मात्र सो सम्झौतापत्र आफूले पढ्न सक्ने भाषामा रहेको बताएका छन् । कतिपयले भने आफूलाई मौखिकरूपमा मात्र जानकारी दिइएको बताएको अध्ययनमा उल्लेख छ ।

सहभागीले आफूहरुले स्वतन्त्रतापूर्वक कुनै गन्तव्य मुलुक छाड्न पाउने अधिकारको सम्मान नभएको पनि बताएका छन् । उत्तरदातामध्ये ८३ प्रतिशतभन्दा बढीले आफू स्वदेश फर्कन स्वतन्त्र नरहेको बताएका छन् । चार प्रतिशतले मात्र गन्तव्य मुलुकमा रहँदा कुनै ट्रेड युनियनको सदस्य बन्न पाउने अधिकार रहेको बताएका छन् ।

यसैगरी ८० प्रतिशतले मात्र प्रस्थान पूर्व अभिमुखीकरण तालीम प्राप्त गरेको जनाएका छन्। सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रस्थानपूर्व अभिमुखीकरण तालीम अनिवार्य गरेको छ । अभिमुखीकरण तालीम नलिई वैदेशिक रोजगारीमा जान पाइँदैन । उनीहरुले तालीम नलिई प्रमाणपत्र मात्र लिएको देखिन्छ ।

सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन विभिन्न नीति अख्तियार गरेको भए पनि ती नीतिको कार्यान्वयन पक्ष निकै फितलो देखिएको छ । अध्ययनअनुसार वैदेशिक रोजगारीमा जाने अधिकांश श्रमिकको भर्ना प्रक्रियामा कानून विपरीतका अभ्यास हुँदै आएको पाइएको छ । अध्ययनको संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा दक्षिण एशियाली क्षेत्रीय ट्रेड युनियन काउन्सिलका महासचिव लक्ष्मण बस्नेतले आप्रवासी श्रमिकको हक, अधिकार र सेवा सुविधा सुनिश्चित हुनुपर्ने बताए ।

अध्ययनले नेपाली श्रमिकको वैदेशिक रोजगार प्रक्रियालाई थप न्यायोचित बनाउन सरकार, ट्रेड युनियन, सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था, भर्ना प्रक्रियामा संलग्न संस्थाको छाता संस्था, सञ्चार क्षेत्रलगायत सम्पूर्ण निकायका बीचमा थप समन्वय र सहकार्यको खाँचो औँल्याएको छ ।

सन् २०१७ देखि २०२१ अगष्टसम्ममा एक हजार ५३९ नेपाली श्रमिकमा गरिएको अध्ययनका लागि १६ वटा प्रश्न राखिएका थिए । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घले श्रमिकको अधिकार रक्षाका लागि काम गर्दै आएको छ । महासङ्घमा विश्वका १६३ मुलुकका ३३२ ट्रेड युनियन आबद्ध छन् । ती युनियनमा २० करोडभन्दा बढी श्रमिकको आबद्धता छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…