ढुंगा–गिट्टी निकाल्न ३५ वर्षसम्म सेती थुन्ने योजना

काठमाडौं, ११ साउन । पोखराका अमूल्य सम्पदा फेवाताल, सेती खोंच, डेभिज फल्स र रामघाटको दोहन अब निजी कम्पनीले गर्ने भएका छन् । सेतीको रामघाट र मोरेखरेमा बाँध बनाएर ३५ वर्षसम्म ढुंगा, गिट्टी निकाल्न महानगरले निजी कम्पनीसँग सम्झौता गर्दै छ । त्यस्तै सेती खोंच र डेभिज फल्स पनि ४० वर्षका लागि निजी कम्पनीलाई दिने तयारी छ ।

प्राकृतिक स्रोत दोहन गर्न निजी कम्पनीले तयार गरेको प्रस्तावअनुसार महानगरले सार्वजनिक–निजी साझेदारी ऐन र नियमावली, २०७५ बनाएको थियो । यही ऐन र नियमावली दुरुपयोग गर्दै पोखराका प्रमुख प्राकृतिक सम्पदा निजी कम्पनीको जिम्मा लगाउने तयारी भएको हो ।
सेती खोंचमा साहसिक पर्यटन पूर्वाधार र डेभिज फल्स (पातले छाँगो) मा सिसाको पुल निर्माणको योजना स्थानीय पस्मिना व्यापारी कर्केनकुमार गुरुङले बनाएका हुन् । यसका लागि उनले पोखरा महानगरका प्रमुख र तत्कालीन प्रशासकीय अधिकृतलाई ३ वर्षअघि नै सहमत गराएका थिए ।

त्यति नै बेला पोखराको व्यापारिक घराना बतास अर्गनाइजेसनले रामघाटमा स्थायी बाँध बनाउने र सेतीको बहाव थुनेर ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने योजना पेस गरेको थियो । बताससँगै मिसिएका अर्का व्यवसायी विजय भट्टराईले सेती र विजयपुर खोलाको दोभानदेखि केही तल मोरेखरेमा बाँध बाँधेर ढुंगा, गिट्टी, बालुवा निकाल्ने योजना बनाए । उनैले फेवातालमाथि त्रुज भेसल चलाउने प्रस्ताव पनि राखे ।

प्राकृतिक स्रोत यसरी निजी कम्पनीलाई दिन कानुन नै बाधक भएकाले योजनाबद्ध रूपमा महानगरले सार्वजनिक–निजी साझेदारी (सानिसा) ऐन बनाएको हो । कर्केन, बतास र भट्टराईको योजना सफल बनाउन महानगरले सानिसाअन्तर्गत पहिलोपल्ट २०७५ फागुन २० मा नै विभिन्न ५ योजनामा मनसायपत्र आह्वान गर्दै स्थानीय पत्रिकामा सूचना निकाल्यो ।

सराङकोटमा पर्यटन पूर्वाधार विकास आयोजनाको पनि तयारी थियो तर स्थानीयको विरोध भएको भन्दै महानगरले रद्द ग¥यो । बेगनास तालमा वाटर स्पोर्ट्स सञ्चालन गर्न प्रस्तुत मनसायपत्र मापदण्ड नपुगेको भन्दै अस्वीकृत भयो, त्यस्तै महानगर क्षेत्रभित्र डिजिटल होर्डिङ बोर्ड व्यवस्थापन कार्यमा पनि प्रगति भएन । तर, डेभिज फल्स र सेती खोंचमा पर्यटन पूर्वाधार बनाउने तथा रामघाट र मोरेखरेमा बाँध बनाएर ढुंगा, गिट्टी निकाल्ने योजना भने अघि बढेका छन् ।

निर्माण सामग्रीका लागि पोखरामा चल्तीको घाट हो, रामघाट । सेतीले बगाएर ल्याउने बालुवा बर्सेनि रामघाटमा थुप्रिन्छ । ‘सेतो सुन’ को खानी हात पार्न व्यवसायी आनन्दराज बतासको बी रिभर माइनिङ प्रालिले प्रक्रिया अगाडि बढाएको छ ।

गत कात्तिक ७ मा स्थानीय पत्रिकामा सूचना प्रकाशन गरी महानगरले सेती नदीको रामघाट क्षेत्रमा स्थायी बाँध निर्माण गरी नदीजन्य सामग्री संकलन तथा निकासी गर्न प्रस्ताव आह्वान गरेको थियो । पूर्व योजनाअनुसार बतासकै कम्पनी छनोटमा प¥यो । कम्पनीले प्रारम्भिक सम्भाव्यता अध्ययन गरी प्रतिवेदन महानगरलाई बुझाएको छ । महानगरले बी रिभर माइनिङलाई वार्तामा बोलाएको छ ।

कम्पनीले बुझाएको प्रस्तावअनुसार रामघाटको पुछारमा ५ मिटर अग्लो बाँध बनाएर सेती थुनिनेछ । यसो गर्दा नदीसँगै आउने ढुंगा, गिट्टी, बालुवा पनि थुनिनेछ । उक्त निर्माण सामग्री मेसिनको प्रयोगबाट उत्खनन गरी बिक्री गरिनेछ, यो क्रम आगामी ३५ वर्षसम्म जारी रहनेछ ।

यसरी ढुंगा, गिट्टी दोहनका लागि सेतीको प्राकृतिक बहाव नै रोक्ने कम्पनीको प्रस्तावलाई महानगरले सजिलै स्वीकार गरेको छ । नदीको बहाव रोकिएपछि तल्लो तटका जलजीवसहित प्राकृतिक जीवन के हुने भनेर महानगरले सोचेको छैन । महानगरले त रोयल्टीबापत २ वर्षसम्म वार्षिक ७ करोड रुपैयाँ आउने विषयलाई महत्त्व दिएको छ । त्यसपछि प्रत्येक २÷२ वर्षमा जम्मा २ प्रतिशतका दरले वृद्धि हुनेछ । वार्षिक कुल आम्दानीको ५ प्रतिशत छुट्टै रोयल्टी बुझाउने प्रस्ताव गरिएको छ ।

गत आर्थिक वर्षमा महानगरले रामघाटबाट ६ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको थियो । रामघाटमा विभिन्न जिल्लाबाट आएका १ हजार मजदुर आश्रित छन् । बी रिभर माइनिङले मोरेखरे घाटमा पनि त्यस्तै प्रकृतिको बाँध बनाउने योजना छ, महानगरले सम्झौताको तयारी गरिसकेको छ । यसका लागि मोरेखरे रिभर माइनिङ प्रालि भन्ने कम्पनी खडा गरिएको छ । मोरेखरेमा वार्षिक ३ करोड रुपैयाँ रोयल्टी बुझाउने प्रस्ताव गरिएको छ । यस विषयमा प्रतिक्रिया लिन खोज्दा बतास अर्गनाइजेसनका प्रमुख आनन्दराज बतास सम्पर्कमा आउन चाहेनन् । उनले एसएमएसको समेत जवाफ दिएनन् ।

पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने भने महानगर र निजी क्षेत्रको यो योजना भौगोलिक जोखिम एवं प्राकृतिक दृष्टिकोणले उपयुक्त नभएको बताउँछन् । संरक्षित जलाधार क्षेत्रमा हचुवाको भरमा ढुंगा, गिट्टी, बालुवा निकाल्नु आपत्तिजनक भएको उनको भनाइ छ । ‘फेवाको जलाधार क्षेत्र र सेतीका खोंच भौगर्भिक रूपमा पनि कमजोर छन्,’ उनी भन्छन्, ‘नेपालकै सबैभन्दा धेरै पानी पर्ने ठाउँमा संरक्षणका आयोजना सुरु गर्नककपर्नेमा खोंचमा निर्माण कार्य गर्नु, ढुंगा, गिट्टी, बालुवा निकाल्न ठेक्का दिनु जोखिमपूर्ण हुन्छ ।’

डीपीआर, ईआईए केही नगरी ४० वर्षसम्मका लागि सम्झौता गर्नु वातावरणीय र समयावधिका दृष्टिकोणले पनि उपयुक्त नहुने उनको भनाइ छ । संघीयतामा स्थानीय सरोकारवालालाई सबैभन्दा महत्त्व दिइएकामा सम्झौताअघि कुनै सल्लाह, सुझाव नलिइएको र आर्थिक रूपमा पारदर्शी नभएको उनले बताए । त्यस्तै, सेती खोंच र डेभिज फल्समा पर्यटन पूर्वाधार विकास आयोजनाका लागि भने दुई कम्पनीले मात्रै मनसायपत्र बुझाए, त्यसमा पनि पूर्व योजनाअनुसार कर्केनको सेती क्यान्योन प्रालि छनोट भयो ।

महानगरले सेती क्यान्योनबाट प्रस्ताव मागेर मूल्यांकन स्वीकृत गरी वार्तासमेत गरिसकेको छ । अब सम्झौताका लागि सेती क्यान्योनले आइतबार कागजात बुझाएको छ । हाल प्रमुख प्रशासकीय अधिकृत महेश बराल काठमाडौंमा रहेकाले उनी फर्किएलगत्तै सम्झौताको मिति तोकिने महानगर स्रोतले जनाएको छ ।

डेभिज फल्समा सिसाको पुल राख्ने भनिएको छ । यसका लागि प्राविधिक, आर्थिक क्षमता र अनुभवलाई मूल्यांकनको आधार बनाउने भनिएको थियो । तर, सेती क्यान्योनसँग आयोजनासँग सम्बन्धित कुनै अनुभव क्षमता छैन । यही परियोजनाका लागि नै आर्थिक वर्ष २०७४/७५ मा यो कम्पनी दर्ता भएको हो ।

खासमा कर्केन एभरेस्ट पस्मिना निट एन्ड विभिङ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक हुन् । सरकारले उनलाई पस्मिना उत्पादनतर्फ २०७० मा महत्वपूर्ण व्यावसायिक व्यक्तिका रूपमा सम्मान गरेको थियो । तेस्रो मुलुकतर्फ पस्मिना निकासी रकमका आधारमा उनी अग्रस्थानमा थिए । तर क्यान्योनिङ क्षेत्रमा अनुभव नभए पनि उनको कम्पनीलाई डेभिज फल्स जिम्मा लगाउने तयारी भएको छ ।

फेवातालको पुछारबाट पार्दी खोलाको १.५ किलोमिटर र डेभिज फल्स वरपरको जग्गा सो कम्पनीले ४० वर्षका लागि लिजमा लिनेछ । मस्यौदाअनुसार सम्झौता भएको १८ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनसहित वित्तीय व्यवस्थापनको प्रस्ताव प्रस्तुत गर्नुपर्छ । प्रतिवेदन स्वीकृत गरेको मितिले २ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

डेभिज फल्समा कम्पनीले सिसाको पुल, पानीसहितको म्युजिकल फाउन्टेन, बगैंचा, कृत्रिम झरना, सेल्फी प्वाइन्ट, सुरुङ मार्ग, रेस्टुरेन्ट र क्याफे, चिल्ड्रेन पार्क, स्टिम बोट, धार्मिक संरचनाका मिनियचर (नमुना) लगायत संरचना बनाउनेछ । यसका लागि कम्पनीले २ अर्ब रुपैयाँ खर्च गर्ने भनिएको छ ।

महानगरले जग्गा भाडामा लगाएबापत व्यवसाय सञ्चालन मितिदेखि ३ वर्षसम्म वार्षिक २ करोड रुपैयाँ र कुल आम्दानीको ८.५ प्रतिशत बुझाउनेछ । त्यस्तै, चौथो वर्षदेखि हरेक २–२ वर्षमा ५ प्रतिशतले वृद्धि गर्ने र कुल आम्दानीको १० प्रतिशत रोयल्टी दिने प्रस्ताव गरेको छ ।

हाल डेभिज फल्सको रेखदेख र सञ्चालन छोरेपाटन माध्यमिक विद्यालयले गर्दै आएको छ । कोरोना महामारीबाहेक वार्षिक २ करोड ३० लाख रुपैयाँ डेभिज फल्सको टिकट र सटर भाडाबाट विद्यालयले आम्दानी गर्छ । झन्डै २ हजार ३ सय विद्यार्थी अध्ययन गर्ने विद्यालय सञ्चालनमा उक्त रकम खर्च हुन्छ ।

सेती क्यान्योन प्रालिले ४० वर्षकै लागि सेती खोंच पर्यटन पूर्वाधार विकास आयोजना हात पारेको छ । यो आयोजना समेत सबै प्रक्रिया पूरा गरी सम्झौताको चरणमा छ । मस्यौदामा उल्लेख भएअनुसार गाईघाटदेखि ढुंगेसाँघुसम्म ८.६८ किलोमिटरमा फैलिएको सेती खोंचमा साहसिक पर्यटन पूर्वाधार निर्माण हुनेछन् ।

रेस्टुरेन्ट, सोभिनियर पसल, वातावरणमैत्री तथा टेन्टेड रिसोर्ट, म्युजिकल फाउन्टेन, क्यान्टिलिभर पैदल यात्रा, कृत्रिम झरना, खोंचको प्रवेश र निकासद्वार क्षेत्रमा सेल्फी प्वाइन्ट, खोंचभित्र सिसा, सिसा स्काइवाक, चिल्ड्रेन पार्क, बोटानिकल पार्क, साहसिक फन पार्क, बन्जी जम्पिङ, जिप फ्लाइयर, क्यानोइङ, वाल क्लाइम्बिङ, क्लिफ वाकिङ, टनेल वाकअवे, ट्रेम्पोलिङ, वाटर फन पार्कलगायत मनोरञ्जनात्मक तथा साहसिक पर्यटकीय क्रियाकलाप सञ्चालन गर्ने भनिएको छ । यसमा डेढ अर्ब रुपैयाँ खर्चने कम्पनीको प्रस्ताव छ ।

तर, महानगरले भने रोयल्टीबापत वार्षिक ५० लाख रुपैयाँ मात्र पाउनेछ । त्यस्तै ६ देखि १० वर्षसम्म ७५ लाख, ११ देखि १५ वर्षसम्म १ करोड, १६ देखि २० वर्षसम्म १ करोड २५ लाख, २६ देखि ३० वर्षसम्म १ करोड ७५ लाख, बाँकी अवधि २ करोड रुपैयाँ महानगरलाई बुझाउनेछ । हरेक वर्ष कुल आम्दानीको ५ प्रतिशत थप बुझाउने गरी सम्झौताको तयारी छ ।

वर्षमा ५० लाख रुपैयाँ आम्दानी हुने भनेर महानगरले सेती खोंचको भौगर्भिक संवेदनशीलतालाई बेवास्ता गरेको छ । यो योजनामा महानगरले भीर, डिलसम्बन्धी आफैंले बनाएको मापदण्ड समेत लत्याएको छ । भूगर्भविद्, विज्ञसमेतको संलग्नतामा सेती डिल भौगोलिक हिसाबले संवेदनशील रहेको भन्दै उक्त क्षेत्रमा ५ देखि ५० मिटरसम्म कुनै संरचना बनाउन नहुने मापदण्ड महानगरले आफैंले बनाएको छ । तर, यो कम्पनीले बनाउने संरचनाका लागि भने भवन नक्सा पास गर्दा मापदण्डसम्बन्धी व्यवस्था लागू नहुने भनेर मस्यौदामा प्रस्ट उल्लेख छ ।

२२ वर्षअघि जर्मनीको भू–वैज्ञानिक तथा प्राकृतिक स्रोतसाधन संस्थान (बीजीआर) ले ३ वर्ष लगातार सेती खोंचको अध्ययन गरेको थियो । सेती डिल वरिपरि ७५ मिटर जोखिमयुक्त रहेको उक्त अध्ययनको निष्कर्ष थियो । हाल पोखरा–१५ अमिनतरामा दैनिकजसो सेती डिलमा पहिरो खसिरहेको छ । विभिन्न स्थानमा बेलाबेलामा भासिनेसमेत गरेको छ तर व्यक्तिको मुनाफाका लागि महानगरले यो जोखिमलाई बेवास्ता गरेको छ ।

रिभर माइनिङ कम्पनीका अध्यक्ष विजय भट्टराईले पीपीपीअन्तर्गत अर्को योजनामा पनि प्रस्ताव बुझाएका छन् । फेवातालमा वाटर स्पोर्ट्सका गतिविधि सञ्चालन गर्न उनको एझरेस्ट त्रुज प्रालि र पोखराकै अतिथि रिसोर्ट एन्ड स्पा प्रालिले प्रस्ताव बुझाएका छन् । सानिसा मूल्यांकन समितिको निर्णयअनुसार कार्यपालिका बैठकले प्रस्ताव छनोट गर्नेछ । यसको जिम्मा पनि भट्टराईकै एझरेस्ट त्रुजलाई दिने गरी काम भइरहेको महानगर स्रोतले जनाएको छ ।

सानिसा (पीपीपी) मोडेलमै महानगरले फेवातालमा मिसिने खोलामा निर्मित ४ सिल्टेसन ड्यामबाट ढुंगा, गिट्टी उत्खनन गर्न फेवा सिल्टेसन प्रालिलाई अनुमति दिएर जेठमा काम सुरु भइसकेको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…