संसदको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लाग्यो : सभामुख (पूर्णपाठ)

काठमाडौं, ३ साउन । सभामुख अग्निप्रसाद सापकोटाले संसद पुनः स्थापित भएसँगै प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको टिप्पणी गरेका छन् ।

दोस्रो पल्ट पुनः स्थापित संसदको पहिलो बैठकको शुरूमै आफ्नो मन्तव्य राख्दै सभामुख सापकोटाले संसद विघटनलाई शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्तविपरीत चालिएको कदम भनेका छन् ।

‘शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एक पटक फेरि असफल भएको छ,’ उनको भनाइ छ, ‘प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ । प्रतिनिधिसभाको पुनःस्थापनासँगै राजनीतिक स्थिरता र यसमार्फत् विकास र समृद्धिको जनचाहनालाई सम्बोधन गर्ने हाम्रो लक्ष्यमा दत्तचित्त हुन हामी सबैलाई प्रेरणा मिल्नेमा मेरो विश्वास छ ।’

सभामुखको मन्तव्यको पूर्णपाठ

माननीय सदस्यहरु !

सार्वभौमसत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण माननीय सदस्यहरुलाई बधाई दिँदै हार्दिक स्वागत गर्न चाहन्छु । यो सभाको सार्वभौम अधिकारलाई पुनः स्थापित गर्न आफ्नो तर्फबाट योगदान पुर्‍याउने राजनीतिक दल, प्रबुद्धवर्ग, सञ्चार जगत, नागरिक समाज एवं आम जनसमुदायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

यस अवसरमा संविधान सभाबाट निर्मित संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यता अनुसार प्रतिनिधिसभालाई पुनःस्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सम्मानित सर्वोच्च अदालतप्रति आभार प्रकट गर्न चाहन्छु ।

सार्वभौम जनता नै राज्य शक्तिको एकमात्र स्रोत भएकोले राज्यको शासन व्यवस्थाको सञ्चालन जनताको इच्छा अनुसार जनप्रतिनिधिमूलक संसद्बाट हुने मान्यतालाई संविधानले पूर्णतः आत्मसात् गरेको र सोही कार्यलाई सम्मानित अदालतको फैसलाले पुनः स्थापित गरेको छ ।

प्रतिनिधिसभाको कार्यकाल र प्रभावकारिताका लागि हामीले वर्तमान संविधानमा परम्परागत अभ्यास भन्दा केही विशिष्ट र मौलिक विशेषताहरु समावेश गरेका थियौं । विगतको तुलनामा संसदलाई अपेक्षाकृत बढी स्वतन्त्र, दिगो र राजनैतिक समस्याहरुको निकास दिने आधिकारिक थलोको रुपमा संविधानमा स्थापित गरिएको कुरा पुनः प्रमाणित भएको छ ।

शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एकपटक फेरि असफल भएको छ । प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ । प्रतिनिधिसभाको पुनःस्थापनासँगै राजनीतिक स्थिरता र यसमार्फत् विकास र समृद्धिको जनचाहनालाई सम्बोधन गर्ने हाम्रो लक्ष्यमा दत्तचित्त हुन हामी सबैलाई प्रेरणा मिल्नेमा मेरो विश्वास छ ।

हामीले अवलम्बन गरेको निर्वाचन प्रणाली र हाम्रो व्यवहारिक यथार्थका दृष्टिले पनि सहमति, समझदारी र सहकार्यमा आधारित राजनीतिक संस्कृतिको विकास र विस्तार गर्नुपर्ने अभिभारा छ । यसबाट मात्र संवैधानिक प्रणालीले गतिशीलता प्राप्त गर्न सक्छ ।

प्रतिनिधिसभा पुनः क्रियाशील भएसँगै हामीलाई सार्वभौमसत्ताको अभ्यास गर्ने अवसर मात्र प्राप्त भएको छैन यस सभालाई गतिशील, जीवन्त र जनमुखी बनाउने अहम दायित्व पनि थपिएको छ । यो विशद कार्यभारका लागि सिंगो संसद, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरु एवं सम्पूर्ण माननीय सदस्यहरुको रचनात्मक भूमिका हुनेछ भन्नेमा म पूर्णरुपमा विश्वस्त छु ।

धन्यवाद ।

२०७८ साउन ३

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…