काठमाडौं, ३१ असार । काठमाडौंं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप भएको छ । आज (बिहीबार) बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले थपिएको निषेधाज्ञामा पनि पुरानै नियम जारी राखेको जानकारी दिए । उनले , ‘मोडालिटी फेरबदल भएको छैन । बाहिरबाट आउने सवारी साधनको हकमा सिडिओसँग समन्वय गरेर आउन पाउने छन् ।’
आजको वैठकले लामो दूरीका सार्वजनिक सवारी सञ्चालनको विषयमा निर्णय गर्ने बताइएको भए पनि ठोस निर्णय गरेको छैन । यसअघि लागु गरिएको निषेधाज्ञा आज राति १२ बजेदेखि समाप्त हुँदै थियो ।