काठमाडौं, २३ असार । नेकपा एकता जोगाउन पुनः सक्रिय गराइएको कार्यदलको बैठक आज (बुधबार) फेरि सिंहदरबारमा शुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच देखिएका समस्याहरु समाधान गर्न गठित कार्यदलको बैठक पौने १२ बजेदेखि शुरु भएको हो ।
यसअघि बिहान १० बजेका लागि तय भएको बैठक एमाले नेपाल पक्षका कार्यदलका सदस्य भीम रावल नेपाललाई भेट्न कोटेश्वरस्थित निवास पुगेपछि पर धकेलिएको थियो ।
बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त, भिम आचार्यलगायत ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा,उपमहासचिव विष्णुप्रसाद पौडेल, सचीव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल रहेका छन् ।
कार्यदलमा पार्टी मिलाउने प्रयास स्वरुप सोमबार र मंगलबार पनि छलफल भएको थियो । अहिलेसम्मको छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् ।