असार १६, बर्दघाट। अविरल वर्षाका कारण आएको बाढीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को जनजीवन कष्टकर बनेको छ।
गएराति देखि परेको अविरल वर्षाका कारण बर्दघाट नगरपालिकाका अधिकांश गाउँहरूमा पसेको बाढीले स्थानीय बासिन्दाको घर, खेतमा क्षति पुर्याएको छ। माथि जङ्गलका ठूला खोलानाला हुँदै आएको बाढीले सडक भत्काउँदा पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ।
बर्दघाट-११ कि एक स्थानीय महिला भन्छिन “बिहान ४ बजे उठेर हेर्दा गोठभित्र पानी भरिएर घर भित्रै सम्म बाढी जान लागेको थियो, जसोतसो भित्र नजाने गराएँ तर त्यो गोठमा भएको भैँसीलाई केही गर्न सकिन।” यस्तै स्थानीय डुकुलराज भट्टराई भन्छन् “पोहोर पनि बाढीले गर्दा धानखेती हुन पाएन अहिले पनि धान रोपाइँ गरे देखि खेतमा बाढी कम भएको छैन, खै गाउँ घरमै स्थानीय सरकार आएपनि हामी कृषकको मर्म कसैले बुझ्न सकेन। बर्सेनि यस्तै समस्या भोग्नुपरेको छ। ”
बाढीका कारण सुनवल नगरपालिका-५ वनकट्टी र सुनवल-१३ बडेरामा बनाइएको डाइभर्सन भत्किएपछि आज बिहान पाँच बजेदेखि नै पूर्व पश्चिम राजमार्ग अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो। उक्त स्थानमा पैदलयात्री पनि हिँड्न सक्ने नरहेको उहाँले बताउनुभयो।