१५ असार , काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४,३४८ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कोरोना संक्रमण भई निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५८ संक्रमित थपिएका छन् । काठमाडौंमा ३०२, भक्तपुरमा ५६ र ललितपुरमा १०० जना संक्रमित थपिएका हुन् । उपत्यकामा हाल आठ हजार ३३० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १,७२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३६ हजार ९१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ ।