६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय गरेको छ ।
आज (आइतबार) बसेको आयोगको बैठकले १५ दिनभित्र दाबीको प्रतिलिपिसहित जवाफ पेस गर्न सूचना दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
‘उपेन्द्र यादव पक्षबाट आधिकारिकता दाबी पेस गरिएको छ । त्यो दाबी पेस गरिएको सम्बन्धमा दाबीको प्रतिलिपिसहित लिखित जवाफ पेस गर्नका लागि अर्को पक्षलाई १५ दिनको सूचना दिइएको छ’, प्रवक्ता श्रेष्ठले भने ।
उपेन्द्र यादव पक्षले शुक्रबार बहुमत कार्यकारिणी समितिका सदस्यको हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको थियो । आयोगले राजनीतिक दलको दफा ५१ अनुसार कारबाहीको अध्यावधिक गर्न अस्वीकार गरेपछि यादव पक्षले दफा ४३ अनुसार निवेदन दिएको थियो ।