६ असार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको कोदारी राजमार्गमा पुल र सडक भासिदा आवतजावत बन्द भएको छ । लिपिङ खोलामा रहेको पुल एकापट्टिको भागमा पहिरो गएको छ भने अर्कोतर्फ पुलको छेउको भाग खस्दा पुल नै धराप भएपछि सावरी आवतजावत बन्द भएको हो ।
तातोपानीका प्रहरी निरीक्षक नवराज सापकोटाका अनुसार पुलबाट सवारी आवत जावत बन्द गरिएको छ । यस्तै कोदारी बजार भन्दा नजिकै र तातोपानीको कोप्लाङ भन्ने ठाउँमा सडक भासिएको छ । सडक र पुल भासिएपछि तातोपानी नाका हुँदै आउने कन्टेनरहरु अलपत्र परेका छन् । तीन दिन अघि पुल भासिएर समस्या भएको उक्त ठाउँमा सडक नै भासिएपछि आवागमनमा थप समस्या भएको प्रहरी निरीक्षक सापकोटाले बताए ।
सामान्य बाटो बनाएर मानिसले बोेकर ल्याउन मिल्ने सामान बोकेरै तारे पनि ठूला निर्माणका सामग्रीहरु ल्याउन समस्या भएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । सवारी आवागमन बन्द भएपछि शनिबार देखि तातोपानी भन्सारको कारोबार समेत ठप्प भएको छ ।
‘खाद्यान्न र औषधिहरु लैजान पनि समस्या भएको छ’, अध्यक्ष पौडेलले भने, ‘गम्भीर खालका बिरामी र गर्भवती महिलाहरुलाई अस्पताल लानुपरे हेलिकप्टर बाहेक अर्को विकल्प छैन् ।’ सडक खुलाउन पहल गर्न सडक विभागसँग अनुरोध गरेको भए पनि काम शुरु नभएको अध्यक्ष पौडेलले बताए ।