१ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५१ वटा सूचीकृत कम्पनीको शेयर मूल्य चलखेल गरेर बढाइएको पाइएको बताएको छ । बोर्डले शेयर मूल्यमा चलखेल भएका ५१ कम्पनीको सूची समेत सार्वजनिक गरेको छ ।
पछिल्लो समय केही कम्पनीको शेयर मूल्य अस्वभाविक रुपमा बढेपछि बोर्ड कमिटी नै बनाएर अध्ययन गरिएको थियो । बोर्डले सर्कुलर टेड्रिङ कर्नरिङ तथा पप्प एन्ड डम्प (इन्साइडर ट्रेडिङ) लगायतको अध्ययन गर्न कमिटी बनाएको बोर्ड अध्यक्ष भिष्म ढुङ्गानाले बताएका थिए ।
उक्त अध्ययन समितिको प्रतिवेदनको आधारमा ५१ कम्पनीको शेयर मूल्यमा चलखेल गरेर बढाएको निष्कर्षसहित बोर्डले उक्त कम्पनीको सूची सार्वजनिक गरेको छ । उक्त अध्ययन समितिको पहिलो चरणको अध्ययन सकिएपछि बोर्डले उक्त प्रतिवेदन अर्थ मन्त्रालयमा समेत बुझाएको छ ।
पछिल्लो समय नेप्से सूचक ३ हजार विन्दुमा पुग्दै गर्दा कारोबार रकम समेत २० अर्ब पुगिरहेका बेला बोर्डले गरेको अध्ययनमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड (एनआरएन), विशालबजार कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी एन्ड डेभलपमेन्टलगायतका कम्पनीमा लगानी गर्नु जोखिम हुने देखिएको हो । अध्ययनमा ५१ कम्पनीको २०७३ साउन, २०७७ वैशाख र २०७८ जेठ ३१ गतेको शेयर मूल्य तुलना गरिएको छ ।
सूचीको पहिलो नम्बरमै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड परेको छ । बोर्डका अनुसार यो बैंकको शेयर मूल्य २०७३ साउन १२ गते प्रतिकित्ता एक सय २९ रुपैयाँ र २०७७ वैशाख ३० मा ११४ रुपैयाँ थियो । तर २०७८ जेठ ३१ अर्थात् हिजो यो कम्पनीको मूल्य ७ सय ३२ रुपैयाँ पुगेको छ । यो कम्पनीको प्रतिसेयर आम्दानी ५.०३ रुपैयाँ छ । त्यस्तै कम्पनीको शेयर मूल्य र प्रतिसेयर आम्दानीबीचको सम्बन्ध १४५.५३ रुपैयाँ छ भने नेटवर्थ १५२.०८ रुपैयाँ छ ।
बोर्डले एक वर्षमा शेयर मूल्य ३०० प्रतिशतभन्दा बढीले वृद्धि भएका, पीई रेसियो १०० भन्दा बढी भएका, प्रतिशेयर आम्दानी नेगेटिभ भएका र प्रतिशेयर नेटवर्थ १०० भन्दा कम भएका र कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकन गरेर उक्त सूची सार्वजनिक गरेको बोर्डले जनाएको छ ।
हेर्नुस् सूची: