काठमाडौं, वैशाख २७ । नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले दुई बुँदे माग पूरा गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको समय सीमा समाप्त भएको छ ।
प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल समूहले आइतबार २०७५ जेठ २ को अवस्थामा फर्किनु पर्ने र आगामी दिनमा पार्टी सहमतिका आधारमा अघि बढाउनुपर्ने प्रतिवद्धता खोजेको थियो ।
नेता योगेश भट्टराईले दुई बुँदामा प्रधानमन्त्रीले प्रतिवद्धता जनाए आज (सोमबार) हुने संसद्को बैठकमा विश्वासको मतका प्रस्तावमा उभिने नभए साढे ९ बजे बैठक बसेर सामुहिक राजीनामा दिनेलगायतका कठोर निर्णय लिने जनाएका थिए ।
तर प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार अब नेपालसँग वार्ताको कुनै औचित्य भएको निष्कर्षमा प्रधानमन्त्री पुगेका छन् । अब नेपाल–खनाल समूहले चाल्ने कदमलाई चासोका साथ हेरिएको छ ।
माधवनेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक बस्दैछ । संघीय संसद सचिवालय सिंहदरबारमा बिहान साढे नौ बजे बस्ने बैठकमा सोमबार संघीय संसदमा हुने विश्वासको मतको विषयमा छलफल हुँदैछ । आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समय सीमा दिएका उनीहरुले थप छलफल गर्न बैठक बस्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ । साढे ९ बजे बस्ने बैठकमा प्रतिनिधि सभाको बैठकअघि माधव झलनाथ पक्षका केही सांसदहरुले राजीनामा दिने–नदिने विषयमा छलफल हुने स्रोतले जानकारी दिएको जनाएको छ ।