काठमाडौं , वैशाख ९ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि बालिका खड्का पक्राउ परेकी छिन् । उनलाई आज थापाथलीस्थित नेकपा (एमाले)को नयाँ पार्टी कार्यालय परिसरबाट पक्राउ गरिएको थियो ।
एमाले मुख्यालय धुम्बाराहीबाट आजै बिहान थापाथली सरेको थियो । त्यही गएर खड्काले प्रदर्शन गरेकी थिइन् । खड्का एमालेकी कार्यकर्तासमेत हुन् ।
कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’लगायतका गालीजन्य शब्द प्रयोग गरेपछि त्यहाँ रहेका प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
खड्काले मुख्यमन्त्री राईले विवाह गर्ने प्रलोभन दिएर आफूमाथि यौनशोषण गरेको आरोप लगाउँदै आएकी छिन् । मुख्यमन्त्री राईले भने यसलाई अस्वीकार गर्दै आएका छन् ।
मुख्यमन्त्री राईले केही महिनाअघि मात्र विवाह गरेका थिए ।