
काठमाडौं, चैत्र २६ ।भारतीय सुरक्षा र विनिमय बोर्ड (सेबी) ले भारतका प्रसिद्ध उद्योगपति मुकेश अम्बानीको परिवारलाई नै २५ करोड रुपैयाँ (भारतीय) जरिवाना गरेको छ।
बीबीसी हिन्दीका अनुसार २१ वर्ष पुरानो एक मुद्दामा मुकेश अम्बानी, उनका भाइ अनिल अम्बानी र उनीहरूका पत्नी क्रमशः नीता र टीनालाई बुधबार २५ करोड जरिवाना गरिएको हो।
सेबीले आफ्नो ८५ पृष्ठ लामो फैसलामा स्पष्टसँग भनेको छ– रिलायन्स इन्डस्ट्रिजका प्रवर्द्धकले कम्पनीमा आफ्नो हिस्सेदारीबोर सही जानकारी दिएनन्। यसैकारण कम्पनीका प्रवर्द्धकमध्ये मुकेश अम्बानी, उनका भाइ अनिल तथा उनीहरूका पत्नीलाई जरिवाना गरिएको हो।
सेबीका अनुसार रिलायन्स इन्डस्ट्रिजका प्रवर्द्धकहरूले सन् २००० मा ६.८३ प्रतिशत सेयर खरिदबारे उसलाई जानकारी गराएन्। नियमअनुसार ५ प्रतिशतभन्दा बढी सेयर खरिद गर्दा सेबीलाई जानकारी गराउनुपर्थ्यो।
तर सन् २००५ मा अम्बानी दाजुभाइको व्यवसाय विभाजन भएको थियो। यसपछि पेट्रोलियम कारोबारसँग सम्बन्धित रिलायन्स इन्डस्ट्रिज मुकेश अम्बानीको भागमा पर्यो भने दोस्रो कारोबार अनिल अम्बानीलाई प्राप्त भयो।