
काठमाडौं, चैत्र २५ ।चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आजदेखि लगाइँदै छ। दोस्रो चरणको खोप अभियान अन्तर्गत आजदेखि विभिन्न अस्पतालबाट चिनियाँ खोप लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
खोपका लागि काठमाडौं उपत्यकामा १४ वटा स्वास्थ्य संस्था तोकिएका छन्।
मन्त्रालयका अनुसार चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्ति, हिमाल पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटेल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, तरकारी, फलफूल लगायतका व्यापारी र प्रध्यापकहरुलाई यो खोप लगाउने प्राथमिकताको सूचीमा राखिएको छ।
वीर अस्पताल, थापाथली अस्पताल, शुक्रराज ट्रपिकल टेकु, निजामती अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल, काठमाडौं मेडिकल, त्रिवि शिक्षण, गंगालाल अस्पताल, वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम र क्षेत्रपाटी अस्पतालमा गएर निःशुल्क रुपमा यो खोप लगाउन सकिने छ।
चीनले नेपाललाई अनुदानमा आठ लाख डोज खोप दिएको छ। चीनले नेपालसहित ८० देशलाई अनुदानमा कोभिडविरुद्धको खोप दिएको छ।