
काठमाडौं, चैत १८ । प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गरिनेछ ।
यस्तै कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा पनि शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ । साथै विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची छन् ।
विभिन्न समितिका सभापतिले वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिए पनि सरकारले बिजनेश नदिएको आरोप छ ।
उता सरकार भने बैशाखमै बजेट अधिवेशन शुरु गर्नुपर्ने कारण देखाउँदै यो अधिवेशन तत्काल अन्त्य गर्ने तयारीमा लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशन अन्त्यका लागि सभामुख अग्नीप्रसाद सापकोटासँग छलफल समेत गरेका छन् ।