
काठमाडौं, चैत्र १६ ।काठमाडौंमा होली खेल्ने क्रममा एसिड प्रहार भएको छ। सम्बन्धित व्यक्तिहरुले झुक्किएर एसिड पर्न गएकाे बताए पनि प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ।
काठमाडौंकाे शंकरापुर-१ मा आइतबार होली खेल्ने क्रममा दुई किशोरले एसिड प्रहार गर्दा तीन जना घाइते भएको काठमाडौं प्रहरी परिसरका डीएसपी प्रमेश बिष्टले बताए।
घाइते तीन जनाको शुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। होली खेल्ने क्रममा पानी भनेर झुक्किएर उनीहरुले रंगमा मिसाएर सल्फरिक एसिड प्रहार गरेको बताएका छन्। तर त्यसबारे थप अनुसन्धान भइरहेको डीएसपी बिष्टले बताए।
एसिड प्रहार गर्ने किशोरहरुलाई पनि चोट लागेको छ। घाइते तीन जना १६, ११ र ९ वर्षका हुन्।
घाइतेमध्ये १६ वर्षे किशोर र ११ वर्षे बालकको अनुहारमा र ९ वर्षका बालकको हातमा चोट लागेको प्रहरीले जनाएको छ।
उक्त एसिड डेरीमा दूध फाट्न नदिन प्रयोग हुने गरेको पाइएको प्रहरीले जनाएको छ।
एसिड प्रहार गर्ने दुई किशोर र डेरी संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।