
काठमाडौं, चैत १४ । मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकाबासीको प्रतिक्षाको घडी सकिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले आइतबारदेखि पानी काठमाडौंका धारामा वितरण गर्ने भएको छ । पुरानो वितरण प्रणाली भएकाले समस्या नआइ सहजै धारामा पिउन योग्य पानी जाने केयूकेएलले जनाएको छ ।
आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले जनाएको छ ।
बीडीएसले एकैचोटी १७ करोड लिटरको भार थाम्न नसक्ने हुनाले विस्तारै पानीको परिमाण बढाउँदै लैजाने निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले जानकारी दिएका छन् । ‘चैत १५ गते चार करोड लिटर पानी छाडेको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी गरेका छौं ।
सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाड्नेछौं’, उनले भने, ‘चैत २१ गते पानी पोखरी र बाँसबारीस्थित ट्यांकीमा दैनिक साढे आठ करोड लिटर पानी छाडेर उक्त प्रणालीबाट वितरण गर्ने छौं ।’
काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले मेलम्चीको पानी शुक्रबारदेखि नै थोक वितरणमा पठाइएकाले १५ गते पहिलो दिनदेखि नै पिउन योग्य पानी धाराधारामा पठाइने जनाएको छ ।
केयूकेएलका सहायक प्रवन्धक नारायण कर्णका अनुसार पाइपको फोहार पखाल्न शुक्रबारदेखि नै थोक वितरणमा पानी पठाइएको छ । ‘पाइपको फोहोर सफा गर्न पानी पठाइएकाले १५ गतेसम्म फोहोर सफा भइसक्नेछ । तैपनि केही दिन मेलम्चीको पानी उपयोग गर्ने उपत्यकाबासीले पानी तताएर वा फिल्टर गरेर पिउँदा राम्रो’, उनले भने, ‘मेलम्चीको पानी सफा हो । सुन्दरीजलमा खाना मिलिरहेको छ । धारामा पनि सफा पानी जाने हो । पहिलो दिनदेखि नै पिउन मिल्छ ।’
मेलम्ची खानेपानी आयोजनाले पहिलो चरणको पानी धारामा पठाइसकेपछि दोस्रो चरणमा चक्रपथ रिङरोड बाहिरका क्षेत्रमा पानी पठाउने जनाएको छ ।