
काठमाडौं, चैत्र १२ ।छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र बनेपछि काठमाडौं उपत्यकामा कडाइ गरिएको छ।
उपत्यकाका तीनवटै (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्ला प्रशासन कार्यालय छुट्टाछुट्टै विज्ञप्ति जारी गरी जनस्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सबैमा आग्रह गरेको हो।
अन्यथा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने चेतावनी पनि उनीहरूले दिएका छन्।
तीनवटै जिल्ला प्रशासन कार्यालयले यही चैत १५ र १६ गते पर्ने होली पर्व घरमै मनाउन नागरिकलाई आग्रह गरेका छन्।
भीडभाड नगर्न, मास्क लगाउन तथा स्यानिटाइजर प्रयोगजस्ता नियम अनिवार्य पालना गर्न आग्रह गरिएको छ।
ललितपुर जिल्ला प्रशासनले रात्रिकालीन व्यवसाय राति ११ बजेबाट गर्न नपाइने प्रतिबन्ध पनि लगाएको छ।
भक्तपुरले पनि सूचना जारी गरी अर्को व्यवस्था नभएसम्म मेला, जात्रा, सांस्कृतिक कार्यक्रम नगर्न भनेको छ।