
काठमाडौं, चैत्र १० ।ताइवानमा दुई युद्धक विमान एक आपसमा ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ भने अर्का एक बेपत्ता भएका छन्।
सोमबार युद्ध अभ्यास गरिरहँदा दुई विमान आपसमा ठोक्किएको सीएनएनले जनाएको छ। ताइवान हवाई सेनाका अनुसार दुई एफ–६इ विमान दुर्घटनाग्रस्त भएका हुन्।
ताइवान आफ्नो मुलुकको हिस्सा भएको बताउँदै उसको हवाई क्षेत्रमा चिनियाँ विमानहरु घुस्न थालेपछि ताइवानले चिनियाँ खतराविरुद्ध युद्ध अभ्यास गरिरहेको हो। सो क्रममा दुई विमान आपसमा ठोक्किएका हुन्।
हाल बेपत्ता पाइलटको खोजी भइरहेको छ। दुर्घटनामा परेका दुई विमान अमेरिकामा निर्माण भएको विमान हो।
उक्त विमान सन् १९७० देखि सेवामा थियो। यसअघि ताइवानमै गत अक्टोबरमा एफ५ युद्धक विमान दुर्घटनामा परेको थियो।
त्यसको अर्को महिना नै एफ १६ विमान दुर्घटनाग्रस्त हुँदा एक पाइलटको मृत्यु भएको थियो।