
काठमाडौं, चैत ३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूर सञ्चार सेवालाई सहज, सस्तो र गुणस्तरीय बनाउन सरकारले सो सम्बन्धी छुट्टै पूर्वाधार कम्पनी स्थापना गर्ने कामलाई अघि बढाएको बताउनुभएको छ ।
सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा मंगलबार आयोजित सूचना प्रविधि क्षेत्रका विज्ञहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधि क्षेत्रको विकास गर्न आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट बनाउन लागिएको बताउनुभयो । त्यसका लागि आवश्यक सुुझाव दिन सम्बन्धित निकायलाई उहाँले आग्रह गर्नुभएके उहाँका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो ।
“सूचना प्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने सरकारले योजना बनाएको छ,” मन्त्री गुरुङले भन्नुभयो, “आवश्यक सुुझाव दिन म सरोकारवाला सबैसँग आग्रह गर्दछुु ।”
मन्त्री गुरुङले सरकारले अघि बढाएको ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यक्रमलाई प्रभावकारी बनाउने काममा सहकार्य गरेर अघि बढन निजीक्षेत्रलाई पनि आह्वान गर्नुभयो । त्यस अवसरमा उहाँले नागरिक एपलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई सचेत समेत गराउनुभयो ।