
काठमाडौं, चैत्र ५ ।म्यान्मारका जुन्ता शासकले भ्रष्टाचारको अभियोग लगाएको लोकतान्त्रिक नेतृ आङ साङ सुचीलाई १५ वर्षको जेल सजाय हुनसक्ने भएको छ।
सैन्य शासन लागू गर्न उचित भएको देखाउन सेनाले सुचीमाथि दोहोर्याउँदै विभिन्न मुद्दाहरुमा दोषी ठहर्याउन थालेको हो।
सरकारी टेलिभिजन एमआरटीभीका अनुसार भ्रष्टचारविरुद्धको कानुन उल्लंघन गरेको सुचीलाई १५ वर्षको जेल सजाय हुनसक्छ।
टेलिभिजनमा सार्वजनिक एक रिपोर्टमा से पाइङ कन्सट्रक्सनका प्रमुख मुआङ विकले सुचीलाई सन् २०१८ देखि २०२० सम्म ५ लाख ५० हजार अमेरिकी डलर घुस दिएको स्वीकारेका छन्।
यस्तै सुचीले ड खिन की फाउन्डेसनमा सहयोग गरिएको रकम आफ्नो फाइदाको लागि प्रयोग गरेको पनि आरोप लागेको छ।
गत फेब्रुअरी १ मा सेनाले सुचीको पार्टीले गत नोभेम्बरको चुनामा धाँधली गरेर बहुमत ल्याएको बताउँदै सैन्य कु गरेको थियो।
हाल एक वर्षसम्म त्यहाँ संकटकाल घोषणा गरिएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार सुची, राष्ट्रपति विन मिन्टसहित अन्य शीर्ष नेताहरु अहिले सेनाको नजरबन्दमा छन्।
हजारौंले सैन्य कूको विरोध गर्दै आएका छन्। यसबीचमा २ सयभन्दा बढी प्रदर्शनकारीको सेना तथा प्रहरीको गोली लागेर मृत्यु भएको छ।