
काठमाडौं, चैत्र ३ ।प्राध्यापक माणिकलाल श्रेष्ठको निधन भएको छ।
उनको ८८ वर्षको उमेरमा मंगलबार बिहान ८ बजे निधन भएको हो।
केहि सातादेखि अचेत अवस्थामा रहेका श्रेष्ठको गंगालाल अस्पतालमा उपचार भइरहेको थियो।
उनी नेपालभाषा, इतिहास, भाषिक, साँस्कृतिक तथा मार्क्सवादी अध्ययनका प्रकाण्ड विद्वान मानिन्छन्।
नेपालभाषामा लिखित ‘पाश्चात्य समालोचना सिद्धान्त’ उनको चर्चित कृति हो।
‘अंग्रेजी भाषाका प्रतिष्ठित प्राध्यापक श्रेष्ठ नेपालभाषा र नेपाली भाषामा गहन अध्ययन तथा अनुसन्धान गर्नुभएको थियो,’ त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. जगदिशचन्द्र भण्डारीले नेपालखबरसँग भने, ‘उहाँ मार्क्सवादी लेखक तथा वरिष्ठ समालोचकका रुपमा पनि स्थापित हुनुहुन्थ्यो।’
शैक्षिक, राजनीतिक, सामाजिक क्षेत्रका व्यक्तिहरुले उनको निधनमा श्रद्धाञ्जलि दिएका छन्।
‘नेपाली बाम आन्दोलनका सिध्दान्तनिष्ठ अग्रज, लोकतान्त्रिक आन्दोलनका अथक योध्दा, नेपालको जातीय तथा भाषिक साँस्कृतिक मुक्ति आन्दोलनका प्रतिष्ठित बिचारक एवं नेता र बहुआयामिक ज्ञानका धनी ब्यक्तित्व क. माणिकलाल श्रेष्ठको दुःखद निधनबाट मर्माहत भएको छु। हार्दिक श्रध्दाञ्जली। सबैमा समवेदना,’ नेकपा –माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्।