
२९ फागुन ,काठमाडौं। पुनर्स्थापित नेकपा एमालेका माधव–झलनाथ पक्षीय केन्द्रीय सदस्यहरुको बैठक आज (शनिबार) बस्दैछ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बिहान ११ बजे बानेश्वरको एक होटलमा आफ्ना पक्षका सदस्यलाई छलफलका लागि बोलाएका हुन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–खनाल पक्षका नेताहरुको जिम्मेवारी एकलौटी रुपमा खोसेपछि आफ्नो रणनीति तय गर्न बैठक बस्न लागेको उनी निटक स्रोतले जानकारी दिएको छ । अध्यक्ष ओलीले शुक्रबार बालुवाटारमा आफ्नो समूहको केन्द्रीय कमिटी बैठक राखेर नवौं महाधिवेशनको कार्यसमिति पुनर्गठन गरेपछि नेपाल–खनाल समूह आक्रोशित बनेको छ ।
ओलीले अध्यक्ष र महासचिव बाहेक सबै पद हटाउने र प्रदेशको नेतृत्व हेरफेर गर्ने निर्णय गरेका थिए । एमालेका नेतालाई प्रदेशको नेतृत्वबाट हटाएर ओलीले माओवादी केन्द्रका नेतालाई जिम्मेवारी दिएपछि माधव–खनाल पक्षको शुक्रबारै स्थायी कमिटी बैठक बसेको थियो । सो वैठकले जिल्ला तहदेखि नै समानान्तर कमिटी बनाउने निर्णय गरेको छ ।
बैठकपछि पार्टीलाई ओलीले विसर्जनतिर लगेको भन्दै जिल्ला तहदेखि नै समानान्तर कमिटी गठन गरिने निर्णय भएको नेपाल–खनाल पक्षका नेता बेदुराम भुसालले जानकारी दिएका छन् । चैत ४ गते राष्ट्रिय भेला गरेर पार्टी पुनर्संरचना अभियान शुरु हुने नेता भुसालको दाबी छ ।
ओलीले पार्टी विधिविधान मिचेर स्वेच्छाचारी रुपमा पार्टी निर्माणका लागि बर्षौ रगत–पसिना बगाएका नेता–कार्यकर्ताहरुमाथि अपमान गरेको नेपाल–खनाल समूहको निचोड रहेको छ । एमाले पुनस्र्थापित भएपछि पार्टीको केन्द्रीय र स्थायी कमिटी वैठक बोलाएर अहिलेसम्म देखिएका समस्याहरु हल गर्नेतिर लाग्नुको सट्टा मनपरी रुपमा कारवाही र भर्ती गरिनु पार्टीको मूल्य–मान्यता र भविष्यमाथिकै प्रहार भएको नेपाल–खनाल पक्षको निष्कर्ष रहेको छ । उनीहरुले ओलीको कदमको प्रतिवाद गरेर अघि बढ्ने बताएका छन् ।