
काठमाडौं, २६ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएको छ । पछिल्लो राजनीतिक परिवेश र सत्ता समीकरणबारे बैठकमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।
हिजो (मंगलबार) पनि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको थियो । मंगलबारको बैठकले सरकार गठनका लागि कांग्रेस र जसपासँग वार्ता गर्ने निर्णय गरेको थियो ।
बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए । अध्यक्ष दाहालले बुधबारको बैठकमा देउवा र भट्टराईसँग भएको कुराकानी ब्रिफिङ गर्ने उनको सचिवालयले जनाएको छ ।
मंगलबार कांग्रेस र जसपासँगको छलफल सकारात्मक भएको माओवादी केन्द्रको दाबी छ । मंगलबार स्थायी कमिटी बैठक शुरु हुनु पहिला कांग्रेस नेता मिनेन्द्र रिजालले प्रचण्डसँगलाई भेटेका थिए । सर्वोच्च अदालतले नेकपा नामको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको पार्टीलाई दिएपछि एमाले र माओवादी पुरानै हैसियतमा फर्केपछि माओवादी केन्द्रको बैठक बसेको हो ।