काठमाडौं, २६ फागुन । नेकपा नाम ऋषिराम कट्टेललाई दिंदै एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष पुनरावलोकनमा नजाने भएको छ ।
माधवकुमार नेपाल र झलनाथ खनालसहित प्रचण्डसँग निकट समूह एमालेमै फर्किएपछि प्रचण्ड पक्ष पुनरावलोकनमा नजाने निष्कर्षमा पुगेको हो । सर्वोच्चको फैसला आउने वितिक्कै प्रधानमन्त्री केपी ओली समूह हर्षित छ । सो समूहले सर्वोच्चको फैसला कार्यान्वयन गर्दै जाने भन्दै पार्टी कार्यालयमा एमालेको बोर्ड राखिसकेको छ ।
आइतबार सर्वोच्च अदालतले निर्वाचन आयोगको तीन वर्षपहिलेको निर्णय खारेज गर्दै नेकपा नाम कट्टेललाई दिने फैसला गरेको थियो । अदालतको फैसलाविरुद्ध चित्त नबुझेमा रिट निवेदक वा विपक्षी पुनरवलोकनमा जान सक्ने छन् । निवेदकले यो मुद्दामा निर्वाचन आयोग, तत्कालीन एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विपक्षी बनाएका थिए ।
आयोग र ओली पक्ष फैसला कार्यान्वयनमा जाने भएपछि प्रचण्ड मात्रै पुनरावलोकनमा नजाने भएका हुन् । माओवादी केन्द्रका सांसद समेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले अब फैसला पुनरावलोकनको महत्व नरहेको बताएका छन् ।
‘माओवादी र एमाले नै एकै ठाउँमा बसिरहेको भए हुन सक्थ्यो होला । दुवैले नेकपा छाडिसके । त्यो मसानघाटमा गइसक्यो । अब पुनरावलोकन गरे पनि नगरे पनि के मतलब भयो र ?’ बिडारीले थपे, ‘पुनरावलोकन गरेर करेक्सन गरौं भन्यो भने हुन सक्छ । तर त्यो बाटो बन्द हुँदै गयो ।’
माओवादी निकट मानिने अर्का वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले पनि पुनरावलोकनको प्रक्रिया अगाडि नबढेको जानकारी दिएका छन् । नाम खारेज भइसकेपछि पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकले एकीकरणअघिकै दलमा फर्किने निर्णय गरेको थियो ।
आयोगको उक्त निर्णयसँगै मंगलबारदेखि नेकपा एमाले र माओवादी केन्द्र वैधानिक रुपमा रुपमा विभाजित भएका छन् । आयोगले दुवै पार्टीका अध्यक्षलाई नयाँ नाम र चुनाव चिन्ह १५ दिनभित्रमा प्रस्ताव गर्न पनि समय दिएको छ । तीन वर्ष एकता गरेर आयोगकै त्रुटिका कारण छुट्टिन पुगेका एमाले र माओवादीलाई पनि फेरि एकीकरण गर्ने हो भने १५ दिन भित्रमा अर्को नाम लिएर आउन आयोगले भनेको छ ।
पेरिसडाँडाको निर्णयपछि पछिल्लो समय सँगै देखिएका प्रचण्ड–नेपाल पक्षका सांसद तथा नेताहरु पनि नेकपा एमाले र माओवादी केन्द्रमा फर्किएका छन् । मंगलबार माओवादी केन्द्रको स्थायी समिति बैठक बसिसकेको छ । माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गर्दै कांग्रेस र जनता समाजवादी पार्टीसँग सत्ता साझेदारीका लागि समेत अग्रसरता देखाएको छ ।