दैलेख,फाल्गुन २५ । दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता भएकी छिन्।
आठबिस नगरपालिका-३ की ३५ वर्षीया सुकी बडुवाल आफ्ना ४ छोराछोरीसहित कर्णाली नदीमा बेपत्ता भएकी हुन्। उनले चार सन्तानसहित नदीमा फाल हानेको स्थानीयले बताएका छन्। तर, प्रहरीले घटनालाई शंकास्पद भन्दै बेपत्ता महिलाका पतिलाई पक्राउ गरेको छ।
नदीमा बेपत्तामध्ये दुई छोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुका अनुसार नदीमा बेपत्तामध्ये १४ वर्षीया छोरी कल्पना र १२ वर्षीया सरिताको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा भेटिएको छ। माछा मार्न प्रयोग भएको जालमा बेरिएको अवस्थामा उनीहरुको शव भेटिएको हो।
आमासँगै १० वर्षीय छोरा ललित र पाँच वर्षीया छोरी रजनी भने अझै बेपत्ता छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
बेपत्ता भएकी महिलाका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले पक्राउ गरेको छ। घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक साहुले बताए।