२४ फागुन, भक्तपुर । भक्तपुरको कौशलटारमा एक १७ वर्षीया किशोरीलाई चार दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरिएको छ । करणीमा संलग्न भएको आरोपमा प्रहरीले २७ वर्षीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको धनगढी नगरपालिका–४ सन्तनगर घर भई हाल कौशलटारमा डेरा गरी बस्ने २७ वर्षीय दुर्गानन्द चौधरी छन् । उनले उदयपुरको गाईघाट घर भएकी १७ वर्षीया किशोरीलाई कोठामा राखेर चार दिनसम्म जबरजस्ती करणी गरेको महामनगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिएका छन् ।
‘विवाह गर्छु, घुम्न जाउ’ भनेर किशोरीलाई गाईघाटबाट बसमा चढाई कौशलटारस्थित डेरामा ल्याएर किशोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको पाइएको गिरीले जानकारी दिएका छन् । चौधरीले ११ फागुनदेखि १४ फागुनसम्म किशोरीलाई कोठामा राखेर जबजस्ती करणी गरेका प्रहरीले जनाएको छ ।
किशोरीले अभिभावकको सहयोगमा २१ फागुनमा चौधरीविरुद्ध जबरजस्ती करणी आरोपमा किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । चौधरीलाई मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरिएको हो । भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।