काठमाडौं, १८ फागुन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा समिति गठन गरेर छ । मंगलबार सरकारले दुई सदस्यीय वार्ता टोली गठन गरेपछि विप्लव समूहले पनि वार्ताका लागि समिति बनाउने तयारी भइरहेको जनाएको छ ।
सरकारले समिति बनाएपछि आफूहरुको तर्फबाट पनि समिति बन्ने स्रोतले जानकारी दिएको छ । वार्ताका लागि सम्भवतः समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा समिति बन्न सक्ने विप्लव समूह स्रोतले जानकारी दिएको छ ।
यसअघि पार्टी महासचिव विप्लवले वार्ताका लागि आफूहरु सकारात्मक रहेको भन्दै विज्ञप्ति नै जारी गरेका थिए । त्यसपछि सरकारले वार्ता समिति बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक समूहसँग वार्ता गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।