काठमाडौं,फाल्गुन १८ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसद कृष्णकुमार श्रेष्ठले प्रचण्डले आफूलाई मन्त्री बनाइदिने आश्वासन दिएको भनेर आएको समाचारको खण्डन गरेका छन्।
तनहुँका सांसद श्रेष्ठले मंगलबार (आज) एक दैनिक पत्रिकामा ‘तानातानमा सांसद’ शीर्षकमा प्रकाशित समाचारमा आफ्नो पनि नाम आएको भन्दै आपत्ति जनाएका हुन्।
सांसद श्रेष्ठले विज्ञप्ति जारी गरी भनेका छन्, ‘समाचारमा उल्लेख गरिएअनुसारको यो समूह वा त्यो समूहले मन्त्री पदको आश्वासन दिएको भनेर आएको समाचारमा कुनै विश्वसनीयता छैन। मसँग कुनै पनि प्रतिक्रिया नलिईकन अनुमानको भरमा राखिएको विषयवस्तुप्रति मेरो गम्भीर असहमति रहेको जानकारी गराउँदछु।’
समाचारका कारण भ्रममा नपर्न र आफू जहिले पार्टी एकताका पक्षमा रहेको उनले उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘पार्टी एकता अभियानमा निरन्तर लागिरहने र सरकारको स्थायित्वको अभियानमा पनि सधैं लागिरहने प्रतिबद्धता जनाउँछु।’