
काठमाडौं, फाल्गुन १२ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जान लागेका छन्।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर गरेपछि सिर्जना भएको नयाँ राजनीतिक परिस्थितिको सन्दर्भमा छलफल गर्न नेकपाका दुई नेता बुढानिलकण्ठ पुगेका हुन्।
‘उहाँहरु आउने खबर गर्नुभएको छ,’ देउवाका स्वकीय सचिव भानु देउवाले भने।
चितवनमा रहेका दुवै नेता त्यहाँ आयोजित सभालाई सम्बोधन नगरी फर्कन लागेका हुन्।
सर्वोच्च अदालतको फैसलापछि नयाँ सरकार गठनको प्रक्रिया, नयाँ प्रधानमन्त्रीबारे बिभिन्न अड्कलबाजी भइरहेका बेला नेकपाका अध्यक्षद्वयले त्यसैबारे देउवालाई भेटेर छलफल गर्नेछन्।
ओली हटेपछि नेकपाका प्रचण्ड वा नेपालमध्ये एक र कांग्रेस सभापति देउवालाई नै अब बन्ने प्रधानमन्त्रीका प्रवल दाबेदारका रुपमा लिइएको छ।