फागुन ९,काठमाडौं । नेपालले भारतसँग किन्ने भनेको २० लाख डोज कोभिड खोपमध्येको १० लाख मात्राको पहिलो खेप आइतबार काठमाडौं आइपुग्ने भएको छ।
भारतको नयाँ दिल्लीबाट १ः३० को एयर इण्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौं आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउन लागेको हो ।
यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ ।
उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ । खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने उनले बताए । उनले सम्झौताअनुसार बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने जानकारी दिए ।