
बैतडी, ७ फागुन । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औं दिनमा दाहसंस्कार गर्न लागिएको हो ।
यसअघि, भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारबाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बताएका थिए । तर, शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको थियो ।
जिल्ला अस्पतालमा रहेको शवलाई बिहान १० बजे बुझ्ने जानकारी आएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । गोठलापानीबाट बिहान ११ बजे शवयात्रा सुरु हुने भागरथीका काका शिवराज भट्टले बताए । गोठलापानीबाट सेरासम्म शवयात्रा हुने र सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने भएको हो ।
गएको माघ २१ गते विद्यालयबाट घर जान हिडेंकी भागरथीको साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो ।