
काठमाडौं, ७ फागुन । चौंथो चरणको सडक आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (शुक्रबार) स्थायी कमिटीको बैठक बोलाएको छ । अहिले बिहान ९ बजे स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्न बैठक बोलाइएको जानकारी दिंदै प्रवक्ता श्रेष्ठले वैठकमा अरु नियमित कार्यसूची पनि रहेको बताएका छन् । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधिसभा विघटनको कदम उठाएपछि सत्तारूढ पार्टी नेकपा विभाजित भएको थियो । विभाजित प्रचण्ड–नेपाल समूह अहिले सडक आन्दोलनमा छ । आजको बैठकमा आन्दोलनको समीक्षा गरिने उनले बताए ।
यसैबीच निर्वाचन आयोगले म्याद गुजारेर आधिकारिकता दाबी गरेकाले अहिले कारबाही गर्न नमिल्ने बताएपछि प्रचण्ड–नेपाल समूहले बहुमत सदस्यहरू नागरिकतासहित उपस्थित गराउने तयारी गरेको छ ।
एक सचिवालय नेताका अनुसार आयोगले आधिकारिकता दिन आलटाल गरेपछि बहुमतसिद्ध गर्न खोजिएको हो । ‘हामीले नागरिकताको प्रतिलिपि बुझाउन लागेका हौं । केन्द्रीय सदस्यहरू उपस्थित हुनुपर्छ कि पत्र बुझाए पनि हुन्छ, आयोगले जे भन्छ, त्यहीअनुसार गर्छौ’, उनले भने ।