
काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन आफै सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन् ।
प्रधानमन्त्री ओली अहिले केहीबेरमा लिखित जवाफ बोकेर सर्वोच्च जाने उनको सचिवालयले जनाएको छ । गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरूद्ध अपहेलनाको मुद्दा दर्ता गराएका थिए ।
अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए ।
गत माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध आचार्य र न्यौपानेले मुद्दा हालेका हुन् । प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘एक जना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गरेका थिए ।
अदालतको बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गर्नु निन्दनिय भएको भन्दै मुद्दा परेको हो । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीलाई बाटोको म्याद बाहेक सात दिनभित्र आफैं आएर लिखित जवाफ दिन आदेश दिएको थियो ।
गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायधाीश तथा पूर्व सभामुख दमनानाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
बाटोको म्याद हेक एक साताभित्र उपस्थित हुन भने पनि अदालतले प्रधानमन्त्री निवासमा मंगलबार मात्र म्याद तामेल गरेको थियो । चार पूर्व प्रधानन्यायाधीशले भने सोमबार अदालत उपस्थित भएर लिखित जवाफ पेस गरिसकेका छन् ।