
५ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीया दिनेश भट्ट रहेका छन् ।
भागरथीको हत्या पछी उनको न्यायको लागि स्थानीयले सुरु गरेको आन्दोलन र प्रदर्शनमा १८ वर्षीय भट्टको समेत सहभागिता रहेको थियो । जिल्ला प्रहरी कार्यालय, बैतडीका एक अधिकृतका अनुसार घटनामा संलग्न हुनसक्ने आशंकामा भट्टलाई यसअघि पनि बोलाएर सोधपुछ गरिएको थियो ।
“हत्याको कारण प्रतिशोध”
आरोपी भट्टले आफुले प्रतिशोधको लागि हत्या गरेको प्रहरीसामु बयान दिएका छन् । उनले दुई परिवारबीच लामो समयदेखि विवाद रहेको र त्यसैको प्रतिशोध साँध्न हत्या गरेको भट्टले बयान दिएका छन् । स्रोतका अनुसार उनले विद्यालयबाटै पछ्याउँदै आएको भनेका छन् ।
उनले विद्यालयबाटै पछ्याउँदै आउदा भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा एकान्तमा भेटेपछि उनलाई घचेटेको बयान दिएका छन् । त्यसक्रममा झाडीमा लडाएर हत्या गरेको उनले भनेका छन् ।