
काठमाडौं, ४ फागुन । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (मंगलबार) एमिकस क्युरीले आफ्नो राय दिन शुरु गरेको छ । सोमबार रिट निवेदकको जवाफ सकिएपछि मंगलबारबाट अदालतको सहयोगी भनेर चिनिने एमिकस क्युरीले आफ्नो धारणा दिन थालेको हो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले एमीकस क्युरी गठन गर्ने फैसला गरेको थियो । जसमा नेपाल बारको तर्फबाट कानुन व्यवसायीहरू बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनाली र सर्वोच्च अदालत बारको तर्फबाट पूर्णमान शाक्य र गीता पाठक एमीकस क्युरीमा चयन भएका थिए ।
नेपाल बार एशोसियसनको तर्फबाट एमीकस क्युरीमा रहेका कानुन व्यवसायी बद्रीबहादुर कार्कीले राय दिन शुरु गरेको सर्वोच्च अदालतले जानकारी दिएको छ । प्रधानन्यायाधीश जबराले समयको ख्याल गरेर आफ्नो राय दिन अनुरोध गरेका छन् । समयको चाप रहेको भन्दै समय छोटो गरिदिन उनले आग्रह गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा कानुन व्यवसायीहरूले सोमबार जवाफी बहस पनि टुंग्याएपछि मंगलबार एमिकस क्युरीको पालो आएको हो । उनीहरूको सुनुवाइ समेत सकिएपछि सर्वोच्च अदालतले विघटनको मुद्दामा निर्णय सुनाउने मिति तोक्नेछ ।
एमिकस क्युरीका रुपमा रहेका पाँच जनाले आफ्नो राय दिइसकेपछि इजलासले फैसला तयार पार्ने जानकारहरु बताउँछन् । फैसला तयार पार्न करिब एक हप्ताको समय लाग्नसक्ने उनीहरुको भनाइ छ । यस आधारमा अर्को सातासम्म संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला दिने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । प्रधानमन्त्री ओलीको सो कदम असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै १३ वटा रिट निवेदन दायर भएको थियो । ती सबै रिटलाई एकसाथ हेर्दै डेढ महिनादेखि संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएको छ ।
रिट निवेदकका तर्फबाट करिब तीन सय कानुन व्यवसायीले बहसका लागि वकालतनामा बुझाएकोमा ७२ जनाले बहस गरेका थिए । यस्तै, सरकारका तर्फबाट महान्यायाधिवक्तासहित ११ जना सरकारी वकिल र प्रधानमन्त्रीका निजी कानुन व्यवसायी ३२ जनाले बहस गरेका थिए ।
रिट निवेदकका तर्फबाट १९ जना कानुन व्यवसायीले जवाफी बहस गरेका थिए । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् |