
चितवन, ४ फागुन । प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनविरुद्ध चाँडै नै संयुक्त आन्दोलन हुने जानकारी दिएका छन् ।
आज (मंगलबार) गृह नगर चितवनका पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसलगायत दलसँग छलफल भइरहेकाले अब ‘केही समय’ भित्रै संयुक्त आन्दोलन शुरु हुने बताए ।
उनले कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलन गर्नेबारे छलफल भइरहेको जानकारी दिएका हुन् ।
अहिले एक्ला एक्लै आन्दोलन गरिरहेका आफूहरूबीच संयुक्त आन्दोलन गर्ने विषयमा कुरानकानी भइरहेको नेकपा अध्यक्ष प्रचण्डको भनाइ छ । गत माघ २८ गते आफ्नो पार्टीले गरेको आम हडतालका बेला पनि प्रचण्डले ललितपुरमा फागुनको पहिलो साता संयुक्त आन्दोलन शुरु हुने विश्वास व्यक्त गरेका थिए ।
संविधान मिचेर घोषणा गरिएको चुनाव आफैंमा अवैधानिक हुने प्रचण्डको दाबी छ । यसैबीच नेकपाले फागुन ६ गतेदेखि २० दिनका लागि चौंथो चरणको विरोधका कार्यक्रम घोषणा गरिसकेको छ ।