
काठमाडौं, माघ २८ ।नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले जारी पार्टीको आधिकारिकताको विवाद पार्टी केन्द्रीय कमिटीको बहुमतका आधारमा टुंग्याउनुपर्ने बताएका छन्।
‘हाम्रो पार्टीका ४४० जना केन्द्रीय सदस्यलाई मार्चपास गराउँ, ओलीको पक्षमा १०० जना हुनेछन् भने हाम्रो पक्षमा ३०० जना,’ नेकपाले बुधबार आयोजना गरेको विरोधसभामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने।
उनले आफू पहिलो अध्यक्ष भन्ने ओलीको दाबीको कुनै अर्थ नभएको बताए।
पार्टीको विधान, सर्कुलर र निर्णयलगायत कुनै पनि दस्तावेजमा ओलीलाई पहिलो अध्यक्ष भनेर नभनिएको नेपालको भनाइ छ।‘ओलीले आफै म पहिलो अध्यक्ष भनेर हुँदैन, कुनै पनि दस्तावेजमा उनलाई पहिलो अध्यक्ष भनेर लेखिएको छैन,’ उनले भने।
त्यसैगरी ओलीले मंगलबार निर्वाचन आयोग गएर चुनावी प्रक्रिया सुरु भइसकेको हुँदा आयोगले अब कुनै पार्टीको पनि विवादमा प्रवेश गर्न नहुने भनी दिएको अभिव्यक्तिको उनले विरोध गरे।
निर्वाचन कानुनले नै यदि एउटै पार्टीभित्र नाम, चिन्ह वा छाप आदिबारे विवाद भयो भने बहुमतको आधारमा निर्णय हुने लेखेको बताउँदै आयोगले सोहिअनुसार काम गर्नुपर्ने नेपालले बताए।