
काठमाडौं, माघ २० ।नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अवहेलना मुद्दामा मंगलबार पेशी तोकिए पनि सुनुवाइ भने हुन सकेन।
सर्वोच्च अदालतमा दर्ता गरिएको अवहेलना मुद्दा न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा पेशी तोकिए पनि उक्त इजलासको बेन्च नै बस्न नभ्याएपछि पेशी सरेको हो।
सोमबार प्रचण्डविरुद्ध समिर हायूले अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए।
यसअघि प्रधानमन्त्री केपी ओलीसहित पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्धको रिट निवेदनको सुनुवाइ पनि शर्माकै इजलासमा भएको थियो।
माघ १५ गते उनीहरु सबैसँग अदालतले सात दिनभित्रमा लिखित जवाफ माग गरेको छ।
संसद् विघटनविरुद्ध सर्वोच्चमा सुनुवाइ भइरहेका बेला प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको हायूको रिट निवेदनमा उल्लेख छ।
प्रचण्डले विभिन्न सार्वजनिक कार्यक्रममा संसद् विघटनविरुद्ध अभिव्यक्ति दिँदै आएका छन्।