काठमाडौं, माघ ११ ।दीपेन्द्र लामाको निर्देशन रहेको राजनीतिक, सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘छ माया छपक्कै’ युट्युवको १ नम्बर ट्रेन्डिङमा उक्लेको छ । अपलोड गरिएको चौथो दिनमा १५ लाखभन्दा बढि भ्यूजसहित फिल्मले शीर्ष स्थान कब्जा गरेको छ ।
गतबर्षको दशैंमा रिलिज भएको फिल्म ‘छ माया छपक्कै’लाई युट्युबमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ । हलमा बम्पर व्यापार गर्न सफल यो फिल्मलाई ४ दिन अगाडि युट्युबमा सार्वजनिक गरिएको हो । युट्युबमा यो फिल्मलाई करिब २३ लाखले हेरिसकेका छन् । नेपालको युट्युबमा ट्रेन्डिङको पहिलो स्थान ओगटेको फिल्मलाई दर्शकको उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।
फिल्म हेरेर प्रतिक्रिया दिने २२ सय भन्दा बढी दर्शकले यसलाई उत्कृष्ट भनेका छन् । दीपकराज गिरी र उनको टिमले बनाएको आजसम्मकै उत्कृष्ट फिल्म भनेर धेरै दर्शकले प्रतिक्रिया लेखेका छन् ।
देशको राजनीतिक अवस्था र ‘नो भोट’को अभियान छेडेको यो फिल्मले पाएको प्रतिक्रियाले निर्माता रोहित अधिकारी खुशी देखिए । उनले भने–‘हलमा पनि दर्शकले फिल्मलाई अत्याधिक रुचाउनुभएको थियो । युट्युबमा पनि सोही अनुसारको माया पाएका छौ ।’
रोहितले फिल्म ‘छ माया छपक्कै २’ पनि चाडै बन्ने बताए । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।
ट्रेन्डिङ १ मा आएपछि टिम मेम्बरहरूले फेसबुकमा खुशी साटेका छन् ।