दोलखा, पुस २८ ।शरीरमा कुनै तागत छैन् । कपाल फुलेर सेतै भएका छन् । गिजामा एउटै पनि दाँत छैनन् । अनुहारका छाला चाउरिएर मुजा मुजा परेका छन् । आज उनको चाउरिएका अनुहारमा चमकता छाएको छ । खुशी छाएको छ । किनकी उनले १ सय ५ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । मेलुङ गाउँपालिका वडा नं. ३ कि दुर्ग माया कार्कीले १ सय ५ वर्षको उमेरमा मंगलबार जिल्ला प्रशासन कार्यालय दोलखाबाट नागरिकताको प्रमाणपत्र पाएकी छिन् ।
दुर्ग माया विक्रम सम्बत १९७२ भदौ १८ गते साविक मालु गाविस हाल तामाकोसी गाउँपालिका वडा नं. ४ मालुमा जन्मिएकी थिइन् । उनको विवाह मेलुङ गाउँपालिकामा भएको थियो । दुर्ग मायाको भतिजो गोकुल बहादुर कार्कीको सनाखतमा मेलुङ गाउँपालिका वडा नं. ३ का वडाध्यक्षको पहलकदमी पछि आवश्यक कागजात सहित जिल्ला प्रसाशन कार्यालयमा पेश गरेपछि उनले नागरिकता प्राप्त गरेकी हुन् ।
“नागरिकता पाउँदा असाध्यै खुशी लागेको छ ।” दुर्गामायाले खुशी हुँदै भनिन् “नागरिकता दिलाईदिने आफन्त र वडाका अध्यक्ष हिरा बाबुलाई धेरै धन्यावाद । नाम पनि हिरा काम पनि हिरा, सधैँ चम्किने”
वडाध्यक्ष थोकरले १ सय ५ वर्षमा नागरिकता लिने दुर्ग माया सम्भवतः जिल्लाकै पहिलो भएको बताए । उनले दुर्ग मायाको नागरिकताको लागि सिफारिस गरिदिदाँ खुुुशी र गर्व महशुस भएकाे बताए । नागरिकता बनेपछि दुर्ग मायाले राज्यको सेवा सुविधा प्राप्त गर्ने छिन् । दुर्ग मायाको विवाह घ्याङका इन्द्र बहादुर कार्कीसँग भएको थियो । उनको श्रीमानले मदिरा सेवन गरि दुख दिन थालेपछि एउटी छोरीलाइ काखी च्यापेर मालु स्थित माइती बस्दै आएकी थिइन्।