
२६ पुस,बुटवल । अदालतमा मुद्धा परेपछि करिव डेढ वर्षदेखि रोकिएको बुटवलको चौराहा-गोलपार्क सडक खण्ड बिस्तारको काम आजबाट सडक बिभागले सडक मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ ।
सडक मिचेर बनाइएका घर संरचना भत्काउन आदेश दिएपछि पछिल्लो पटक सडक विस्तार आयोजनाले घरधनीहरुलाई संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको थियो । उक्त म्यादमा केही घरधनीले सडक क्षेत्र मिचेर बनेका संरचना भत्काउन सुरु गरे पनि केहीले अटेर गरेपछि आइतबार बिहानै ठूलो संख्यामा प्रहरी परिचालन गरी बुटवलको ट्र्राफिक चोकबाट सडक मिचेर बनाएका घर टहरा भत्काउन सुरु भएको हो ।
घरधनी नारायणीदेवि प्रधानलगायतका २४ जनाले अदालतमा मुद्दा हालेपछि सडक विस्तार रोकिएको थियो । तर, पछिल्लो रिट निवेदनमा गत असार ९ गते दिएको अल्पकालिन आन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्वोच्च अदालतले पुस २० गते फैसला गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक विस्तार गर्ने बाटो खुलेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गरेको हो । ‘सडक क्षेत्र मिचेर बनाइएका घर टहर हटाउन पटकपटक आग्रह गरे पनि अटेर गरेपछि बाध्य भएर डोजर चलाएर भत्काउन थाल्यौं,’डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले भने, ‘अधिकांश घरधनीले आफैं भत्काएका छन्, अटेर गरेकाको हामीले भत्काउन थाल्यौं ।’
डेढ वर्षअघि तुलसीपुर उच्च अदालतको बुटवल इजलासले पछिल्लो पटक जग्गाधनीहरुलाई जिल्ला प्रशासन कार्यालय मार्फत कानुनी प्रकृया पुर्याएर मुआव्जा दिएपछि मात्र सडक बिस्तार कार्य गर्नु भन्ने आदेशसँगै बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तार अवरुद्ध भएको थियो ।
उक्त सडक खण्डमा ३१० घर र बाँकी ४७ खाली जग्गा गरी ३५७ जनाले सडक क्षेत्र मिचेकोमा २ सय जनाभन्दा बढीले यसअघि नै घर भत्काइसकेका छन ।