
काठमाडौं, पुस २४ ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट अनिश्चितकालका लागि बन्द गराइएको छ।
बुधबार भएको अमेरिकी संसद भवनमाथि हमलापछि २४ घण्टाका लागि अकाउन्ट बन्द गर्नेे भनिएको फेेेेेेेसबुकले अनिश्चितकालसम्मका लागि प्रतिबन्ध लगाएको हो।
फेसबुक कम्पनीका प्रमुख मार्क जुकरबर्गले एक विज्ञप्ति जारी गरी ट्रम्पको अकाउन्ट अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएका हुन्।
जुकरबर्गले विज्ञप्तिमा पछिल्ला २४ घण्टामा भएका अचम्मलाग्दा घटनाले राष्ट्रपति ट्रम्पले आफ्ना उत्तराधिकारी जो बाइडेनलाई शान्तिपूर्ण र कानुनी रूपमा सत्ता हस्तान्तरण गर्न बाधा पुर्याउन चाहेको देखिएको उल्लेख गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत संसद् भवनमा आक्रमण गर्ने आफ्ना समर्थकको निन्दा गर्नुको साटो प्रशंसा गरिरहेकाले अमेरिका मात्र नभई विश्व नै चिन्तित भएको उनले विज्ञप्तिमा लेखेका छन्।
विज्ञप्तिमा भनिएकाे छ- ‘हामीले हिजो उनको बयान हटायौं, किनकि त्याे हिंसा र हिंसालाई उक्साउने खालको थियो। ट्रम्पलाई यो प्लेटफर्मको प्रयोग जारी राख्न दिँदा धेरै खतरा देखियाे। त्यसैले उनको फेसबुक र इन्स्टाग्राममा अनिश्चितकाल अर्थात् कम्तीमा अर्को २ हप्ता (सत्ता हस्तान्तरण नभएसम्म) प्रतिबन्ध लगाउन निर्णय गरेका छौं।’
जुकरबर्गद्वारा जारी विज्ञप्ति :
अमेरिकाकाे संसद् भवनमा हुलदंगापछि टि्वटरले पनि ट्रम्पकाे अकाउन्ट १२ घण्टाका लागि बन्द गराएकाे जनाएकाे थियाे।