
काठमाडौं, पुस २३ । निर्वाचन आयोगले आगामी माघ १५ गतेदेखि देशैभरका सबै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सञ्चालनको लागि तयारी अघि बढाएको छ ।
आयोगका अनुसार देशभरमा रहेका ७ सय ५३ वटै स्थानीय तहका वडाहरुमा सो कार्यक्रम सञ्चालन गरिने भएको छ । सोका लागि आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आयोगले देशभरका स्थानीय तहलाई पत्राचार गरिसकेको छ ।
आयोगले निर्वाचनको मिति घोषणा गरिसकेपछि नेकपाका आधिकारिताको विवाद निरुपणसँगै निर्वाचनको तयारी थाल्ने प्रक्रिया अघि बढाएको हो ।
आयोगले स्थानीय तहलाई पठाइएको पत्रमा माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहमा रहेका केन्द्रबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको उल्लेख गर्दै सोका लागि आवश्यक सहयोग गर्न स्थानीय तहमा भनिएको छ ।
कार्यक्रमअन्तर्गत मतदाता नामावली प्रकाशित गर्ने, कुनै मतदाताको नाम र विवरण त्रुटि भएमा सच्याउनका लागि निवदेन दिने, झूटा विवरण दिएर मतदाता नामावली सिफारिस गरेको भए प्रमाणसहित उजुरी दिने, दोहोरो नामावली हटाउने, मृत्यु भएको वा नागरिकता त्याग गरेको वा रद्द गरेका व्यक्तिहरुको नाम मतदाता नामावलीबाट हटाउने क्रियाक्रलापहरु हुने भनिएको छ ।